Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

एजेन्सी, ७ चैत २०७९ । दक्षिण भारतीय अभिनेता चेतन कुमारलाई हिन्दुत्व सम्बन्धी ट्वीट गरेको आरोपमा बेंगलोरको प्रहरीले पक्राउ गरेको छ।

सोमबार चेतनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै हिन्दुत्व झुटमा आधार भएको बताएका थिए । रावणलाई हराएर भगवान राम अयोध्या फर्केपछि मात्रै भारतले राष्ट्रको मान्यता पाएको सावरकरको सिद्धान्त झुट भएको उनले लेखेका थिए ।

चेतनले ट्वीटरमा हिन्दुत्वलाई झुट मात्र नभई बाबरी मस्जिदको ठाउँमा रामजन्मभूमि नरहेको र सत्यले हिन्दुत्वको झुटलाई परास्त गर्न सक्ने पनि लेखेका थिए । त्यस्तै उनले २०२३ मा उरीगौडा र नान्जेगौडालाई टिपुका हत्यारा भएको पनि झुट भएको दावी गरेका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार चेतनले गरेको ट्वीटमा उजुरी पाएपछि बेंगलोरको प्रहरीले पक्राउ गरेको हो । चेतनविरुद्ध आईपीसीको धारा २९५ ए र ५०५ बी अन्तर्गत हिन्दु धर्मको भावनामा चोट पुर्‍याएको र हिन्दु धर्मको अपमान गरेको आरोपमा मुद्दा दर्ता भएको छ।

यसअघि सन् २०२२ को फेब्रुअरीमा पनि चेतनलाई हिजाब मुद्दाको सुनुवाई गर्ने उच्च अदालतका न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो । यस बाहेक ब्राह्मण समाजमा चेतनको बयानका कारण दुई पटक उजुरी परेको थियो ।

 

तपाईको प्रतिक्रिया