Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, ११ फागुन २०७९ । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम घोषणा गरेका हुन् ।

‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो । यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु’ खेलाडीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने ।

मंसिर २४ गते सरकारले पारित गरेको पुरस्कार कार्यविधि अनुसार डिभिजन टू क्रिकेट जितेका खेलाडीले जनही २ लाख रुपैयाँ पाउँछन् । प्रधानमन्त्री प्रचण्डले त्यही पुरस्कार दिने भनेका हुन् ।

गत हप्ता त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र स्कटल्याण्डविरुद्धको चार खेलको शृंखला नेपालले क्लिनस्वीप गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएईमा हुने सिरिजका लागि नेपाली टोली १३ फागुनमा त्यसतफ जाँदैछ । नेपालले पहिलो खेल १५ फागुनमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया