Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २ माघ २०७९ । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो ।

सोमबार जरिवानाबापतको रकम घटाउनु पर्ने र पाँच पटक ट्राफिक कारबाहीमा परे सवारी चालक अनुमति पत्र रद्द हुनसक्ने प्रावधान खारेजीको मागसहित सार्वजनिक यातायात क्षेत्रका मजदुरले गरेको विरोध प्रदर्शन भड्किएको मौका छोपेर लुटपाट मच्याएका थिए ।

लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले नयाँबसपार्क क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिएको हो । घटनामा अरु मानिस पनि संलग्न हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

काठमाडौं प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जिसीले लुटपाट आशंकामा केही मानिस पक्राउ परेको र उनीहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको बताए । घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन अनि प्रत्यक्षदर्शीसँग सोधपुछ जारी रहेकोले अरु मानिसको पनि संलग्नता हुनसक्ने भएर पक्राउ परेका मानिस सार्वजनिक नगरिएको उनले बताए ।

प्रदर्शनका क्रममा हिंसा भड्काएर लुटपाट र आगजनीमा संलग्नको खोजीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी र महाराजगञ्ज प्रहरीको टोली खटिएको छ । प्रहरीले घटनास्थलका सीसीटीभीका फुटेजहरू पनि संकलन गरिसकेको छ । सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका भनाइ, प्रहरीसँग आएका अन्य तथ्य र प्रमाणका आधारमा अपराधमा संलग्नको खोजीकार्य जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए ।

‘हिंसा भड्किएको मौका छोपेर एउटा हुल प्रवेश गरी लुटपाट मच्याएको देखिन्छ,’ एसएसपी केसीले भने, ‘प्रहरीका विभिन्न संयन्त्रले अपराधमा संलग्नको खोजबिन जारी राखेका छन्, छिट्टै उनीहरूलाई कारबाहीको दायरामा ल्याइने छ ।’

पक्राउ परेका मानिसमाथि सोधपुछ भइरहेकाले उनीहरूलाई सार्वजनिक नगरिएको एसएसपी केसीको भनाइ छ । घटनाको भोलीपल्ट मंगलबार गृहसचिव विनोदप्रकाश सिंहले काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दिवेश लोहनीलाई बोलाएर घटनाबारे जानकारी लिनुका साथै लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

 

तपाईको प्रतिक्रिया