Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २ फागुन । गौरादह नगरपालिका वडा नं-७ को दुधालीमा श्रीमत् भागवत महापुराण धन धान्यान्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटन भएको छ । गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीले दिप प्रज्वलन गरि महापुराणको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा संवोधन गर्दै मेयर सुवेदीले सामाजिक तथा धार्मिक कार्यक्रम मार्फत सामाजिक संरचनाको विकास गर्न संचालन गरिएको महायज्ञमा दान दक्षिणा गरि सहयोग गर्न सबैमा अनुरोध गरेका थिए।

दुधालीमा २०६८ सालमा महापुराण आयोजना गरि निर्माण गरिएको राधाकृष्ण मन्दिर भवनको चौर घेराबेरा र पुजारी आवास गृह निर्माण गर्ने उदेश्यले महापुराण आयोजना गरिएको पुराण आयोजक समितिका अध्यक्ष राजेश राईले बताएका छन्। मन्दिर परिसरमा संचालन गरिएको महापुराणबाट राधाकृष्णको मुर्तिलाई प्राण प्रतिस्ठा दिलाई मन्दिरमा मुर्ति स्थापना र मन्दिरको उद्घाटन समेत गरिने अध्यक्ष राईले बताएका हुन् ।

फागुन २ गते देखि ९ गते सम्म संचालन गरिने महापुराणमा युवा पण्डित शास्त्री नारायण शरण काफ्लेले कथा बाचन गर्ने पुराण आयोजक समितिका सचिब गंगाराम राजवंशीले जानकारी गराएका छन्।महापुराणमा पण्डित दामोदर शरण पौडेल उप बाचक रहने सचिब राजवंशीले बताए।

महापुराणमा कथा श्र्रवण गर्न र यथासाक्य दान दक्षिणा गर्न आयोजकले आव्हान गरेको छ। महापुराण आयोजना स्थलको चारै दिसामा प्रवेशद्वार निर्माण गरिएको छ। महापुराणबाट ५० लाखको हाराहारीमा रकम संकलन हुने लक्ष रहेको आयोजक समितिले जानकारी गराएका छन्।

महापुराण उद्घाटनको पहिलो दिन सोमबार झाँकी सहित कलस यात्रा निकालिएको छ। मन्दिर आयोजक समितिका पदाधिकारी र स्थानीय बासिन्दाहरुले कलस यात्राका लागि स्थानीय गौरिया खोलाको जल उठाई दुधाली, जाम्बाडी, ग्वालडुब्बा, जुरोपानी परिक्रमा गरि पुन दुधाली राधाकृष्ण मन्दिरमा आई जल बिसर्जन गरिएको थियो।

महापुराण उद्घाटनमा मन्दिर आयोजक समितिका अध्यक्ष धनिलाल राजवंशीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब गंगाराम राजवंशीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया