विरगञ्ज, २ फागुन २०७९ । विरगञ्ज महानगरपालिकामा भएको अटो पल्टिँदा एक जना शिशुको मृत्यु भएको छ । अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर विरगञ्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजीव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजीव पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे विरगञ्ज महानगरपालिका वडा नम्बर १० टाउनहल नजिकै सडक खण्डमा ना.१ ह ३७४० नम्बरको अटो रिक्सा घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो ।
प्रहरीले विरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।