Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २९ माघ २०७९ । झापाको देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि सतप्रतिशत छात्र वृत्ति पाउने भएका छन् । भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० पास गरेका ५० जना र १२ कक्षा पास गरेका ५० गरी हरेक वर्ष एक सय जना नेपाली विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

जसका लागि देवी माध्यमिक विद्यालय र मेवाड विश्वविद्यालयबीच समझदारी भएको छ । बिर्तामोड – ५ स्थित देवी माध्यमिक विद्यालय आएका डा. अशोककुमार गादिया र प्रधानाध्यापक अम्विका श्रेष्ठबीच समझदारी भएको शिक्षक उमेश साहले जानकारी दिए । मेवाड विश्व विद्यालयका कुलपति डा. गादियाले देवी माध्यमिक विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीलाई सत प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेसंँगै दुई पक्षबीच समझदारी भएको हो । कक्षा १० पास गरेका ५० जना विद्यार्थीलाई हरेक वर्ष ५० लाख बराबरको छात्रवृत्ति प्रदान गरिने र कक्षा १२ पास गरेका ५० जना विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने डा. गादियाले बताए ।

विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीलाई विश्वका जुनसुकै मुलुकमा गएर उच्च शिक्षा अध्ययन गर्न चाहे मेवाड विश्वविद्यालयले नै छात्रवृत्ति प्रदान गर्दै अध्ययनका लागि पठाउने उनको भनाइ छ । अहिले विश्वका २० वटा मुलुकमा रहेका विश्वविद्यालयसंँग मेवार्ड विश्व विद्यालयले सहकार्य गर्दै छात्रवृत्ति प्रदान गर्दै आएको डा. गादियाले बताए ।  निम्नआयश्रोत भएका अधिकांश अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको र त्यस्ता अभिभावकका छोराछोरीले आफूमा क्षमता भएपनि आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनु पर्ने अवस्था सृजना हुन नदिन मेवाड विश्वविद्यालयले गरिव र मेधावी विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको डा. गाादियाको भनाइ छ ।

मेवाड विश्व विद्यालयमा विश्वका २० देश र भारतकै २९ वटा राज्यका विद्यार्थी अध्ययन गर्न आउने गरेको बताइएको छ । यो विद्यालयमा एघार हजार विद्यार्थी अध्ययनरत् रहेको बताइन्छ । जसमध्ये ९० प्रतिशत विद्यार्थी गरीव परिवारका रहेको डा. गादियाले बताए । उनले छात्रवृत्तिमा गएका विद्यार्थीले रोजगारीको इच्छा गरे आफ्नै कम्पनीमा रोजगार समेत उपलब्ध गराउने बताए । मेवाड इन्स्टिच्यू्ट अफ मेनेजमेन्टका अध्यक्ष समेत रहेका डा. गादियाले सरकारी (सामुदायिक) विद्यालय भए पनि देवी माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले भने –यो विद्यालयमा यतिका धेरै विद्यार्थी अध्ययनरत हुनुमा यहाँको शैक्षिक गुणस्तर राम्रो हुनु हो । देवी माध्यमिक विद्यालयमा अहिले करिव चार हजार जना विद्यार्थी अध्ययनरत छन् ।

मेवाड विश्वविद्यालयले यहाँ अध्ययनरत एक सय जनाविद्यार्थीलाई छात्रवृत्त दिने घोषणा गरेसंगै विद्यालयकी प्रधानाध्यापक श्रेष्ठले खुशी व्यक्त गर्दै मेवाड विश्वविद्यालयसँंग निरन्तर सहकार्य गर्ने बताइन् । उनले डा. गादिया र मेवाड विश्व विद्यालयलाई धन्यवाद दिँदै विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरिदिएको प्रति आभार व्यक्त गरिन् ।
डा. गादियाले हरेकवर्ष २० जना शिक्षकलाई समेत तालिम प्रदान गर्ने बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि शिक्षक पनि दक्ष हुनुपर्छ –डा. गादियाले भने– ‘हामी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकलाई समेत तालिमको व्यवस्था गर्छा । जुन तालिम गुणस्तरीय शिक्षाका लागि सहयोगी हुनेछ ।’

नोट: मेवाड विश्वविद्यालय UGC द्वारा स्वीकृत छ । यो भारतीय विश्वविद्यालयहरूको संघको सदस्य, NAAC द्वारा मान्यता प्राप्त छ, । बार काउन्सिल अफ इन्डिया र अखिल भारतीय प्राविधिक शिक्षा परिषद द्वारा अनुमोदित छ। विश्वविद्यालयलाई राष्ट्रिय मूल्याङ्कन तथा मान्यता परिषद्बाट पनि मान्यता प्राप्त छ।

 

 

तपाईको प्रतिक्रिया