Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २७ माघ २०७९ । झापाको भद्रपुरमा फागुन ७ गतेबाट सुरु हुन लागेको भद्रपुर गोल्डकप २०७९ को पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

फागुन १६ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी ८० प्रतिशत पूरा भएको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि अहिले रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट समेत निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

झन्डै २ दशकपछि भद्रपुर झापा गोल्डकप संचालन हुन लागेको हो । प्रतियोगितामा ए डिभिजनका सात टिम सहित भारत, भूटान र बंगलादेशका गरी १० वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियागिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख एक हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २० हजार रुपैयाँ पाउने छन् ।

 

तपाईको प्रतिक्रिया