Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, २४ माघ २०७९ । नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ को आरोपमा वीरगन्जबाट एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी० ले वीरगन्जका नितेश गुप्तालाई पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार गुप्ताले राष्ट्रिय खेलाडीसमेत रहेका पोखरा एभेन्जरका सदस्य आरिफ शेखलाई स्पट फिक्सिङको प्रस्ताव गरेका थिए ।

प्रस्तावपछि आरिफले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) मा रिपोर्ट गरेको पनि सीआईबीले जनाएको छ । गुप्तालाई २ दिनअघि वीरगन्जबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौं ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ ।

यसअघि सीआईबीले फिक्सिङ र अनियमिततामा नेपाली र विदेशी गरी १० जना संलग्न रहेको जनाएको थियो । त्यसमा एक नेपाली र अर्का विदेशी खेलाडी हुन् । मध्यस्तकर्ताको भूमिकामा काम गरेका महबुब आलम र स्पट फिक्सिङ गरेको आरोपमा मोहम्मद आदिल आलम पक्राउ परिसकेका छन् ।

प्रहरीको अनुसन्धानअनुसार ६ जना विदेशी व्यक्ति फिक्सिङ, स्पट फिक्सिङमा जोडिएका छन्, जसमा चार व्यवस्थापकको भूमिका, एक खेलाडी र एक बाहिरी व्यक्ति रहेका छन्, जसले बीचको मान्छेको भूमिकामा बिचौलियाको काम गर्ने गरेको पाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया