Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

भद्रपुर, २४ माघ २०७९ । भद्रपुरमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज ९मंगलबार० देखि सुरु भएको छ । भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भद्रपुर माविको खेल मैदानमा माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नगर प्रमुख गणेश पोखरेलले गरेका छन् ।

प्रतियोगितामा नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी गरी २४ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबडीसहित एथलेटिक्स खेलहरू हुनेछ ।

आज भएको पहिलो दिनको खेलमा एथलेटिक्सतर्फ १५०० मिटर छात्र दौडमा एसएस निकेतनका विवेक लिम्बु प्रथम, अरनिको माविका इन्द्र मगर द्वितीय र वीरेन्द्र माविका सुनिराम हेमरम तृतीय भएका छन् ।

त्यस्तै १५०० मिटर छात्रा दौडमा सगरमाथा माविकी सुस्मिता राई प्रथम, वाइट स्टार स्कुलकी करिना साउदेन द्वितीय र हिमाली माविकी जमुना राजवंशी तृतीय भएकी छिन् ।

छात्रतर्फ १०० मिटर दौडमा एसएस निकेतनका विकास राजवंशी प्रथम, हिमाली माविका नन्टुकुमार गणेश द्वितीय र नेशनल मेरिगोल्डका कैलाश शिवाकोटी तृतीय भएका छन् । छात्रातर्फ १०० मिटर दौडमा भद्रपुर माविकी सविता टुडु प्रथम, अरनिको माविकी सम्प्रदा राई द्वितीय र चन्द्रभानु ज्योति माविकी रित्तीका थापा तृतीय भएकी छिन् ।

त्यसैगरी सटपुट थ्रोमा छात्रातर्फ चन्द्रभानु ज्योति माविकी सङ्गीता किस्कु प्रथम, मोरान मेमोरियलकी उर्मिला मर्डी द्वितीय र हिमाली माविकी एलिशा ठटाल तृतीय भएकी छिन् । सटपुट थ्रोमा छात्रतर्फ वीरेन्द्र माविका आकाश माझी प्रथम, चन्द्रभानु ज्योति माविका अञ्जान लिम्बु द्वितीय र हिमाली माविका दीपेश भण्डारी तृतीय भएका छन् ।

त्यस्तै ज्याभलिन थ्रोमा छात्रतर्फ पुहातु जनज्योति माविका रोहित राजवंशी प्रथम, एसएस निकेतनका पुकार लिम्बु द्वितीय र हिमाली माविका दीपेश भण्डारी तृतीय भएका छन् । ज्याभलिन थ्रोमा छात्रातर्फ चन्द्रभानु ज्योति माविकी सङ्गीता किस्कु प्रथम, एसएस निकेतनकी रिंकी हरिजन द्वितीय र वीरेन्द्र माविकी गंगा डाँगी तृतीय भएकी छिन् । फुटबल, भलिबल र कबडी खेलहरू जारी रहेको जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने खेलाडीहरूले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने छन् । भद्रपुर नगर प्रमुख पोखरेलको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, ७ नम्बर वडा अध्यक्ष अभिषेक ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख प्रेम भुजेलले राखेको कार्यक्रमको सञ्चालन भद्रपुर माविका प्रअ होम गुरुङले गरेका थिए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया