Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १५ माघ २०७९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरुमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने बताउनुभएको हो ।

आइतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले आफूले मासिक ८/१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल अनुगमन गर्ने घोषणा समेत गर्नुभयो ।

मन्त्री गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालसहितका स्वास्थ्य संस्थाहरुको नविकरण नगर्नेदेखि लिएर संस्थानै खारेज गर्न सरकार बाध्य हुनेतर्फ पनि सचेत गराउनुभयो । उहाँले नर्सहरुलाई अनलाईन पेमेन्टको व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिनुभयो ।

मन्त्री गिरीले कोभिड कालमा नर्सहरुले आफ्नो जीवनलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंशा गर्दै उनीहरुलाई आवश्यक तलव भत्तासहितको व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया