Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठमाडौँ, १५ माघ २०७९ । पू‍र्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिने प्रक्रिया थालेका हुन् ।

शुक्रबारमात्रै सर्वोच्च अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । सो फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।सर्वोच्चको फैसलापछि लामिछानेले आइतबारै नागरिकता पुनस्प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुनस् पाउनेछन्।जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार लामिछानेले आइतबारै नागरिकता पाउनेछन् ।

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो ।

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।

लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। त्यसपछि अमेरिका गए र उतैको नागरिकता लिए। उनले २०७० साल (सन् २०१४) मा अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २२ मा अमेरिकी नागरिकका रूपमा गैरपर्यटक (नाता) भिसामा नेपाल आएर काम गर्न थालेका थिए । तत्पश्चात् २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका थिए। उनले २०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए।

 

तपाईको प्रतिक्रिया