Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

उर्लाबारी, ३ माघ २०७९ । पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैचा-८ गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ । २०५० सालमा विश्वविद्यालय स्थापना भएपछि स्थानीयले गोठगाउँमा अस्पताल र मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए । तर, विश्वविद्यालयको मुख्य कार्यालय विराटनगरबाट गोठगाउँमा सार्न नै २६ वर्ष लागेका थियो ।

मुख्य कार्यलय गोठगाउँमा आएपछि स्थानीय नागरिक र राजनीतिक दलका नेताले पूर्णकालिन अस्पताल सञ्चालन र शिक्षण अस्पताल सञ्चालन गर्न माग गरेका थिए । बहुप्रतिक्षित अस्पताल सेवा बिस्तार भएसँगै स्थानीयको गुमेको खुसी फर्किएको छ ।

अस्पताल सेवा विस्तार कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेसका वरिष्ट नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले सरकारले विश्वविद्यालयलाई दिने अनुदान बढाउन माग गर्नुभयो । डा.कोइरालाले विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा सरकारले दलीय भागवण्डा लगाउने अनि अनुदान माग्दा पूर्वाञ्चल विश्वविद्यालय सरकारी होइन, समूदायबाटै चलाउँ भन्न पाइदैन ।

कोइरालाले चार करोड रुपियाँ अनुदान दिएर विश्वविद्यालय नचल्ने बताउँदै यही अवस्थामा मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालन गर्न चुनौती रहेको उल्लेख गर्नुभयो । कोइरालाले तत्कालिन प्रधानमन्त्री गिरजाप्रसाद कोइरालाले भारतको बनारस हिन्दु विश्वविद्यालयको मोडलमा विकसित गर्न पूर्वाञ्चल विश्वविद्यालय स्थापना गरेको उल्लेख गर्र्दै समय समयमा हुने सरकार परिवर्तनले उहाँको सपना पुरा नभएको बताउनुभयो ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता रमेशजङ्ज रायमाझीले १ नम्बर प्रदेशका नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिने उदेश्यले अस्पतालको विस्तारत सेवा शुभारम्भ गरएको बताउनुभयो । राजमाझीले भन्नुभयो, ‘‘पूर्वाञ्चल विश्वविद्यालयमा शिक्षण अस्पताल र मेडिकल कलेज सञ्चालनमा राजनीतिक रङ्ग नदिई काम गरौं । प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । हाम्रो अभियान सफल हुन्छ ।’’

राष्ट्रिय सभाका अर्का सांसद गोपी अछामीले दलगत स्वार्थ र कामको जस कसले लिने भन्नेमा नअल्मलिन आग्रह गर्नुभयो । आफू वर्तमान प्रधानमन्त्रीको प्रतिनिधि समेत भएको बताउँदै उहाँले हिजो मोरङको गछिया आएर पनि प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज र अस्पताल सञ्चालन गर्ने विषयमा प्रतिवद्धता जनाउनु भएकोले यस क्षेत्रका नागरिकको सपना पूरा हुने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्मा, सुन्दर हरैचा नगरपािलकाका मेयर केदारप्रसाद गुरागाई, अस्पताल निर्देशक डा.विपेश आचार्य लगायतले बोल्नुभएको थियो । हाल विश्वविद्यालय परिसरमा १० बजे देखि १ बजेसम्म अस्पताल सेवा सञ्चालन भइरहेको छ । त्यस्तै १० देखि ४ बजेसम्म आकस्मिक सेवा सञ्चालन भइरहेको छ ।गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया