शान्ति सुब्बा
गौरादह, ३ माघ २०७९ । झापाको गौरादह नगरपालिकामा निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले उद्घाटन गर्नुभएको कार्यक्रममा मंगलबार(आज) रेविज सार्ने शङ्कास्पद जनावरले टोकेका १४ जना व्यक्तिलाई रेविज रोग विरुद्धको खोप लगाइएको गौरादह नगर अस्पतालका फोकल पर्सन रामकृष्ण जोशीले जानकारी दिनुभयो ।
मन्त्रालयबाट महिनामा १२० जनालाई पुग्ने खोप प्राप्त भएको बताउँदै कम्तिमा ३ जना वा सो भन्दा धेरैलाई खोप लगाउन मिल्ने फोकल पर्सन जोशीले बताउनुभएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा सुरु भएको यस कार्यक्रममा गौरादह नगरपालिका भित्रका रेविज सार्ने शङ्कास्पद जनावरले टोकेका व्यक्तिहरुले खोप लगाउन पाउँनेछन् । खोप लगाएको पहिलो दिन पहिलो डोज, त्यसको ३ दिनमा दोस्रो डोज र ७ दिनमा तेस्रो डोज लगाएपछि खोपको पूर्ण मात्रा पुग्ने बताइएको छ । रेविज रोग एउटा प्राणघातक रोग भएकाले रेविज लागिसकेपछि यसको उपचार नहुने भएकाले रोग लाग्न नदिन साथै जुनसुकै बिरामी भएता पनि रेविज सार्ने शङ्कास्पद जनावरले टोकेका सम्बन्धित शंकास्पद व्यक्तिले खोप लगाउनुपर्ने गौरादह नगर स्वास्थ्यका सह-संयोजक गोविन्द श्रेष्ठले बताउनुभयो ।
खोप गौरादह नगर अस्पतालमा निःशुल्क उपलब्ध हुने भएकोले जनावरले टोकेमा, र्याल लागेमा वा आफुलाई कुनै शंका लागेमा चेकजाँच गरेर डक्टरको सल्लाह बमोजिम खोप लगाउन पाइने भएको छ । रेविज रोग लागेमा एकान्तमा बस्ने, प्रकाश सँग डराउने, हावासँग डराउने, पानीसँग डराउने जस्ता लक्षण देखिने भएकोले यदि घरपालुवा जनावरले टोकेमा टोकेको १४ दिनमा त्यो जनावर मर्यो या बिरामी भयो भने चेक जाँच गरेर खोप लगाउनु पर्ने हो वा हैन बुझ्नुपर्छ । यस्तै बाहिरको शंकास्पद जनावरले टोकेमा तुरुन्त डक्टरको सम्पर्कमा गई रेविज रोग विरुद्धको खोप लगाउनुपर्ने बताइएको छ ।