Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

भद्रपुर, २ माघ २०७९ । भद्रपुरको कलवलगुरीमा निर्मल बान्तवा स्मृति जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय स्तरका पूर्व फुटबल खेलाडी स्व. बान्तवाको सम्झनालाई जीवन्त राख्न भद्रपुर– १० स्थित कलवलगुरी समाजले यही माघ ७ गतेदेखि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो ।

समाजले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । ऐतिहासिक तथा प्राकृतिक सम्पदा बोकेको कलवलगुरीको खेल मैदान ओझेलमा पर्दै आइरहेको र जिल्ला स्तरमै खेलाडी उत्पादनमा मद्दत पुग्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख बढी खर्च हुने अनुमान गरिएको छ । नजिकिँदै गरेको भद्रपुर झापा गोल्ड कपका कारण आर्थिक सङ्कलनमा केही समस्या उत्पन्न भए पनि विभिन्न दातृ निकाय, स्थानीय तह, खेल प्रेमी, विदेशमा रहेका साथीभाइबाट सहयोग प्राप्त भइरहेको समाजका अध्यक्ष पराजुलीले बताए ।

स्व.बान्तवाका भाइ निशान बान्तवाले प्रथम पुरस्कार बापत एक लाख ५१ हजार दिएका छन् । भद्रपुर नगरपालिकाले एक लाख सहयोग गर्न उनले बताए । माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित आठ वटा टिमको सहभागी रहने आयोजक समितिका मित्र बस्नेतले जानकारी दिए ।

आयोजक कलवलगुरी समाज, दमक ट्रेनिङ सेन्टर, सैनिक फुटबल क्लब, केके फुटबल क्लब पृथ्वीनगर, शनिश्चरे फुटबल क्लब, जलथल फुटबल क्लब, बिर्तामोड युनाइटेड फुटबल क्लब र काँकडभिट्टा ट्रेनिङ सेन्टरले प्रतियोगितामा भाग लिने उनले बताए । विजेता टिमलाई १ लाख ५१ हजार, उपविजेतालाई ७५ हजार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडी, गोलकिपर, फेयर प्ले, म्यान अफ द म्याच र म्यान अफ द सिरिज हुने खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल सङ्घ अध्यक्ष भगीरथ आले मामाले समाज र प्रतियोगिताको लोगो सार्वजनिक गरेको कार्यक्रमको सञ्चालन आयोजक समितिका सरोज काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया