Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ४ पुस २०७९ । फिफा विश्वकपको २२औँ संस्करणपछि संन्यास लिने सोचमा रहनुभएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल संन्यास नलिने बताउनुभएको छ । आइतबार राति भएको फाइनल खेलपछि मेस्सीले आफूले अझै विश्व विजेताको रूपमा केही खेल खेल्ने बताउनुभएको छ ।

यसअघि मेस्सीले कतार विश्वकप आफ्ना लागि अन्तिम हुने घोषणा गर्नुभएको थियो । ‘‘मैले भर्खर यो उत्कृष्ट ट्रफी जितेको छु । यो सुन्दर ट्रफीका लागि हामीले धेरै मिहेनत गरेका छौँ । म अझै विश्व विजेताको रूपमा केही खेल्न र जित्न चाहन्छु,’’ मेस्सीले भन्नुभयो ।

यसअघि सन् २०१४ मा आफ्नै कप्तानीमा विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएपछि मेस्सीले संन्यास लिने घोषणा गर्नुभएको थियो । तर विश्वभरका फुटबल समर्थक र अर्जेन्टिनाकै राष्ट्रपतिले आग्रह गरेपछि मेस्सीले संन्यास फिर्ता लिनुभएको थियो ।

३५ वर्षीय मेस्सीले आफ्ना लागि विश्वकप उपाधि जीवनको सबैभन्दा ठूलो सफलता भएको समेत बताउनुभयो । ‘‘म भगवानलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई सबैथोक दिनुभयो ।खेल जीवनको अन्त्यतिर जुरेको यस विशेष क्षणप्रति धेरै आभारी छु । मैले कोपा अमेरिका कप जिते र यो विश्वकप पनि जिते । एउटा खेलाडीले यो भन्दा धेरै के नै अपेक्षा गर्न सक्छ र । म मेरा टोलीका सबै सदस्यलाई धन्यवाद दिन चाहन्छु,’’ मेस्सीले भन्नुभयो ।

मेस्सीले कतार विश्वकपबाट विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको नयाँ कीर्तिमानसमेत रच्नुभएको छ । उहाँ अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १३ गोल गर्ने खेलाडी समेत बन्नुभएको छ । फिफा विश्वकपको फाइनलमा दुई गोल गर्नुभएका मेस्सीले सात गोल गर्दै सर्वोत्कृष्ट खेलाडीको पुरस्कारस्वरुप ‘गोल्डेन बल’ उपाधि समेत जित्नुभयो ।

फुटबल खेलमा सबै खाले उपाधि जित्नुभएका मेस्सीका लागि बाँकी उपाधि यही विश्वकप थियो । उहाँले यसको सपना समेत पूरा गर्दै आफूलाई विश्वकै महान् खेलाडीको रूपमा उभ्याउनुभएको छ । अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मेस्सी प्रेरित अर्जेन्टिनाले फाइनलमा साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि चुमेको हो ।

 

तपाईको प्रतिक्रिया