Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २९ मंसिर २०७९ । चिसो मौसममा कोठालाई र शरीरलाई न्यायो बनाउन हिटरको प्रयोग गर्ने गरिन्छ । अत्यधिक विद्युतीय हिटरको प्रयोगले विभिन्न खतरा निम्त्याउन सक्छ । लापरवाहीले हाम्रो ज्यान समेत जान सक्छ । हिटरकै कारण ज्यान गुमाएका उदाहरण पनि हाम्रा सामु निकै छन् । हिटरले न्यायो पार्ने काम त गर्छ नै साथ साथै यसको बेफाइदा पनि छन् ।

हामीले हिटर बालेर बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ । अझ स्वास-प्रश्वासको समस्या भएका मानिसले हिटरको प्रयोग गर्दा धेरै नै ध्यान दिनु पर्ने तथा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । चिकित्सकका अनुसार स्वास-प्रश्वाससम्बन्धी धेरै नै समस्या भएका बिरामीले हिटरको प्रयोग गर्नु त्यति फाइदाजनक मानिदैन ।

धेरै जस्तो हिटरहरूमा रातो र तातो धातुको डन्डी प्रयोग गरिएको हुन्छ । कोठाको तापक्रम बढाउनका लागि हिटरले तातो हावा बाहिर फाल्ने काम गर्दछ । तातो हावाले कोठामा रहेको चिसो हावालाई तातो हावामा परिणत गर्ने गर्छ । हिटरबाट निस्कने तातो हावा सुख्खा हुने गर्दछ । साथै यी रुम हिटरहरूले हावामा रहेको अक्सिजनलाई जलाउने काम गर्दछ ।

हिटरबाट निस्कने हावाले हाम्रो शरीरको छालालाई डिहाइड्रेट गर्दछ । हिटरको कारणले धेरै मानिसलाई निद्रा नलाग्ने र टाउको दुख्ने समस्या देखा पर्दछ । हिटरको धेरै प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्याहरू पनि देखा पर्दछन् । हिटरबाट निस्केको केमिकलले हाम्रो श्वासको माध्यम हुँदै हाम्रो शरीरभित्र प्रवेश गर्दछ । जसका कारण हाम्रो शरीरको भित्री भागमा यसले नोक्सान पुर्‍याउँछ । विशेष गरी यसले एलर्जी समेत हुने गर्दछ ।

चिकित्सकका अनुसार यदि तपाईमा दम र एलर्जीको समस्या छ भने साधारण हिटरको ठाउँमा मट्टीतेल वाला हिटरको प्रयोग गर्नुपर्छ । यो हिटरमा तेलले भरिएको पाइप हुन्छ जसले गर्दा हावालाई सुख्खा हुन दिदैन । यदि तपाई हिटरको दिनहुँ प्रयोग गर्नुहुन्छ भने थोरै समयका लागि प्रयोग गरी हिटरलाई बन्द गर्नुहोस् । हिटरको धेरै प्रयोग गर्नाले बच्चाहरुमा पनि दमको समस्या देखा पर्न सक्छ ।

दम रोगका बिरामीहरूलाई हिटर बालेर बस्दा सबै भन्दा धेरै खतरा हुने गर्दछ । यदि तपाईमा श्वास(प्रवासको समस्या छ भने हिटरबाट टाढा नै रहनु राम्रो मानिने चिकित्सकहरूले सुझाव दिएका छन् । यस बाहेक ब्रोन्काइटिस र पिनासका बिरामीहरूलाई यसले एलर्जी हुन सक्छ । यस्ता बिरामीहरुमा हिटरको हावाबाट फोक्सोमा कफ बन्न थाल्छ र खोकी र हाँछ्यु आउन थाल्छ ।

यति मात्र नभई खोकी लाग्ने, छाती दुख्ने छटपटी हुने र फोक्सोमा समेत यसले असर पुर्‍याउँछ । विशेष गरी हिटरले बच्चा र वृद्धवृद्धालाई असर गर्दछ । कोठा बन्द गरेर हिटर बाल्दा कोठाको अक्सीजन बल्छ र श्वास फेर्न गाह्रो हुन्छ । जसबाट ज्यान गुमाउने समेत जोखिम हुन्छ । हिटर बाल्दा कोठामा झ्याल ढोका बन्द गरिनु हुँदैन ।

हिटर मात्र होइन जाडोमा न्यानो बनाउन आगो बाल्दा, ब्रिकेट बाल्दा झ्याल ढोका बन्द गरेर बाल्नु हुँदैन । विशेष गरी कोठाभित्र प्रशस्त मात्रामा अक्सिजन प्रवेश गर्न सक्ने वातावरण हुनुपर्दछ ।

 

तपाईको प्रतिक्रिया