Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २८ मंसिर २०७९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।

रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सभापति लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा पनि पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान तथा ऐनको गम्भिर उल्लंघन गरेको दावी गरिएको छ ।

रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ । सर्वोच्चका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलले युवराज सफलको रिट संवैधानिक इजलासमा दर्ता भएको जानकारी दिनुभयो । बुधबार नै लामिछानेको नागरिकता विवादका सम्बन्धनमा अर्को रिट पनि संवैधानिक इजलासमा दर्ता भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ । नागरिकताका सम्बन्धनमा लामिछानेविरुद्ध गृहमन्त्रालयमा पनि उजुरी परेको थियो ।

उजुरीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया