Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

झापा, २३ मंसिर २०७९ । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।

एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके । रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो ।

त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५ं१ औं मिनेटमा गोल गरेका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । पेनाल्टीमा चुकेसँगै पाँच पटकको च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले भने सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया