Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौँ, २२ मंसिर २०७९ । यो वर्ष महामारीको रुपमा फैलिएको डेंगीका ३ सेरोटाइप (समूह) पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभरबाट लिइएको ३३४ नमुनाबाट सेरोटाइप १, २ र ३ पुष्टि भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा ५० वटा नमुना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २७२ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षणमा यी ३ सेरोटाइप पुष्टि भएका हुन् ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा।गोकर्ण दाहालले १५४ नमुनामा सेरोटाइप १, ३४ वटा नमुनामा सेरोटाइप २ र ८१ वटा नमुनामा सेरोटाइप ३ देखिएको जनाए । उनले भने–‘६ वटामा मिश्रित सेरोटाइप भेटिएको छ भने ५९ वटा सेरोटाइपको नमुना नेगेटिभ पाइएका छन् । परीक्षण गर्दा प्रक्रिया नमिलेको, परीक्षण गर्ने डेंगी किट राम्रो गुणस्तरको नभएकाले पनि नेगेटिभ आउने सम्भावना रहन्छ ।’

७७ वटै जिल्लामा फैलिएको डेंगीबाट साउनयता ५३ हजार ९५१ जना संक्रमित र ६२ जनाको मृत्यु भइसकेको छ । डेंगी शून्य नै नभए पनि केशहरु हाल निकै कम भइसकेका छन् । तथ्यांक हेर्ने हो भने दैनिक १० देखि १२ जनामा डेंगी पुष्टि भइरहेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केश पुष्टि भएका थिए । सबैभन्दा धेरै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगी पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो । त्यतिबेला ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया