Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ८ मंसिर २०७९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंह मकवानपुर प्रतिनिधिसभा–१ मा निर्वाचित भएका छन्। सिंह २ हजार ३९३ मत अन्तरसहित निर्वाचित भएका हुन्। उनले २७ हजार ८१४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन्।

नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४२० मत प्राप्त गर्दै तेस्रो भए। पटक–पटक हार ब्यहोरेका सिंहले यो पटक भने राजनीतिका दिग्गज खेलाडी थापा र गठबन्धनका बलियो उम्मेदवार डिनालाई हराउँदै संसदको यात्रा तय गरेका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा झिनो मतले पराजित भएपछि उनको लोकप्रीयता बढेको थियो। ६४ वर्षीय सिंह २०५४ सालमा हेटौंडा नगरपालिकाको मयेरमा नेकपा एमालेका डोरमणि पौडेलसँग १२ सय मत अन्तरले पराजित भएका थिए। २०५६ मा मकवानपुर प्रतिनिधिसभा २ मा उनी एमालेका खतिवडासँग १२ सय मत अन्तरले हारेका थिए।

सिंह शाही शासनकाल २०६१ मा जिल्ला विकास समितिको सभापति भएका थिए। तर, उनलाई त्यसपछिको निर्वाचन पनि फापेन। संविधानसभा सदस्यको लागि २०७० मा भएको निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग सिंह २ हजार २ सय मतले पराजित भए।
लामो समय राप्रपा नेपालका अध्यक्ष थापा निकट रहेर राजनीति गरेका सिंहको साथ राप्रपाबाट थापा अलग्यिएपछि छुट्यो।

उनी थापाको साथ नलिई २०७९ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धी भए। सिंह नेकपा एकीकृत समाजवादीका मिना लामासँग २५ सय ४४ मत अन्तरले पाराजित भए। उनले २० हजार ३१ मत ल्याएका थिए।

पञ्चायतदेखि नै सिंहले थापाको सहयोगीका रुपमा काम गर्दै आएका थिए। तर, उनले हालसम्म विजयको स्वाद चाख्न पाएका थिएनन्। यो पटक भने सिंहले आफ्नै राजनीतिक गुरु थापा र डिनालाई हराएर विजयको रेकर्ड कायम गरेका हुन्। जितपछि प्रतिक्रिया दिँदै उनले भने, ‘म मलामी कमाउन राजनीतिमा आएको छु, म दिल ज्यानले सकेको मकवानपुरबासीको सेवामा समर्पित हुनेछु।’ सो क्षेत्रमा ९१ हजार ४८६ मत खसेको थियो। अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया