Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

पाँचथर, ८ मंसिर २०७९ । पाँचथरमा प्रदेशसभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले)का राजकुमार भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गर्नुभयो । जबेगु एकीकृत समाजवादीको जिल्ला अध्यक्ष तथा भण्डारी एमालेको जिल्ला अध्यक्ष हुनुहुन्छ ।

यस क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले १ हजार ६ सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमनाथ बजगाईँले १ हजार ३ सय २३, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले ९ सय ४१, स्वतन्त्र उम्मेदवार सञ्चकुमार केरुङले ६ सय तीन, मङ्गोल नेशनल अर्गनाइजेशनका मनकुमार गुरुङले ६ सय ३९, राप्रपा नेपालका नेत्रकुमार बस्नेतले २ सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवाले १ सय ४१ र स्वतन्त्र उम्मेदवार इन्दिरा धौरालीले ३१ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ३९ हजार ९ सय ३३ मत खसेकामा १ हजार ३ सय ३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभा (२) मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभयो । आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६ सय पाँच मत प्राप्त गर्नुभयो । आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेश नं १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत हुनुहुन्छ ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले १ हजार ७ सय ६६, जनता समाजवादी पार्टीका एबीराज आङ्देम्बेले १ हजार १ सय ७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङले १ हजार १ सय २५, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापोले ३ सय ७३, मङ्गोल नेशनल अर्गनाइजेशनका बलबहादुर बुर्जामगरले २ सय ६४ र राप्रपा नेपालका चन्द्रमाया बोहोराले १ सय ४८ मत प्राप्त गर्नुभयो ।६
यस क्षेत्रमा ३४ हजार ४ सय ६५ मत खसेकामा १ हजार ३ सय ३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।

 

तपाईको प्रतिक्रिया