Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १३ कार्तिक २०७९ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम तयारीमा निर्वाचन आयोग जुटेको छ । दशैँ, तिहार र छठको सरकारी बिदामा पनि आयोग दिनरात चुनाव सफल बनाउने काममा व्यस्त छ । कात्तिक १६ भित्र सम्पूर्ण निर्वाचन क्षेत्रमा चुनावी सामग्री पठाइसक्ने लक्ष्यअनुसार आयोगले निर्वाचन सामग्री पठाउने कामलाई तीब्रता दिएको छ ।

निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको जनाएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री आयोगबाट विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । गण्डकी प्रदेश मनाङ र मुस्ताङ, कर्णाली प्रदेश हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिम बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको हो ।

प्राय सम्पूर्ण जिल्ला सडक सञ्जालमा जोडिएकाले आयोगले निर्वाचन सामग्री सडक मार्गबाटै पठाएको छ । ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पुगिसकेको आयोगले जनाएको छ । सोमबारसम्म ६५ जिल्लामा निर्वाचन सामाग्री पुगिसक्ने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउनुहुन्छ ।

पहाडी तथा हिमाली जिल्लामा निर्वाचन सामा्री पठाईसकेकपछि आयोगले मधेश प्रदेशको रौतहट बाहेकका जिल्लामा निर्वाचन सामाग्री पठाउन लागेको छ । आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेका बारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गरिरहेको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधि सभा तर्फ १ सय ६५ सिटका लागि २ हजार ४ सय १२ उम्मेदवार मैदानमा छन् भने ३ सय ३० प्रदेश सभा सदस्यका लागि ३ हजार २ सय २४ जनाको प्रतिस्पर्धा हुँदै छ । निर्वाचनमा ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य गरि १ करोड ७८ लाख ८ हजार ५ सय ७० जना मतदाताले भोट हाल्दैछन् ।

 

तपाईको प्रतिक्रिया