Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

शान्ति सुब्बा
गौरादह, १ कार्तिक २०७९ । सरकारले यहि कार्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधी खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने भएको छ । देशभर ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम अन्तरगत झापाको गौरादह नगरपालिकामा भोलि र पर्सि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको हो ।

नगरपालिका भित्रका ६ महिनादेखि ५ वर्ष सम्मका ४ हजार ४ सय ३१ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागिएको गौरादह नगर स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार र बिहिबार दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रममा गौरादह नगरपालिका वार्ड नं. १ मा ७ सय १६ जना, वार्ड नं. २ मा ३ सय ६१, वार्ड नं. ३ मा ३ सय ४५, वार्ड नं. ४ मा ५ सय ५१, वार्ड नं. ५ मा ५ सय ९७, वार्ड नं. ६ मा ४ सय ८७, वार्ड नं. ७ मा ५ सय ३, वार्ड नं. ८ मा ४ सय ११ र वार्ड नं. ९ मा ४ सय ६० जना गरि ४ हजार ४ सय ३१ जना बालबालिकाहरु रहेको जनाएको छ । यस कार्यक्रमको लागि सबै स्वास्थ्य चौकीहरुमा औषधि पठाई सकेको सह-संयोजक श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने छ भने, १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने श्रेष्ठले बताउनुभयो । भिटामिन ‘ए’ र जुकाको औषधी नि:शुल्क खुवाइन लागिएको बताइएको छ ।

नगरपालिका भित्रका बालबालिकाहरुलाई २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनको लागि ५१ जना महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने जनाइएको छ ।

भिटामिन ‘ए’ ले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गराउनुका साथै ३० प्रतिशत बालमृत्युदर कम गराउँछ । यसको सेवनले बालबालिकालाई कुपोषण हुन नदिने, रतन्धोबाट बचाउने, पुड्कोपनलाई कम गराउन पनि भिटामिन ‘ए’ को निकै ठूलो भूमिका हुन्छ । यस्तै, यसले दादुरा तथा झाडापखाला जस्ता रोगहरु लाग्नबाट बचाउने हुनाले ६ महिना पुरा भएको बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनु पर्दछ ।

यस्तै, भिटामिन ‘ए’ को कमीले छाला सुख्खा हुने, आँखा सुख्खा हुने, रतन्धो(राति दृष्टि कमजोर हुने), शारीरिक विकासमा ढिलाइ हुने, घाँटि र छातिमा इन्फेक्सन हुने, घाउ ढिलो निको हुने र रोग प्रतिरोधात्मक शक्ति घटाउँदछ ।

यस्तै, बालबालिकालाई खुवाइने जुकाको औषधीले भने, बालबालिकाको पेटमा भएको अंकुसे किरालाई मार्ने काम गर्दछ । जुकाले बालबालिकाको पेटमा बसेर रगत चुस्ने हुँदा बालबालिकाको शरीरमा रगतको कमी हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागेको हो ।

सबै वडाहरुमा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिएको हुँदा आफ्नो बालबालिकालाई नजिकैको महिला स्वास्थ्य सवयं सेविका सँग सम्पर्क गरि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनु हुन गौरादह नगर स्वास्थ्य शाखाले सुचना जारी गरेको छ । औषधी बिहान ११ बजे देखि ४ बजे सम्म खुवाइने जनाइएको छ ।

यस्तै, उक्त कार्यक्रम अन्तर्गत ६ महिना सम्मको बालबालिकालाई भिटामिन ए क्याप्सुल नखुवाइने भएको छ । ६ महिना देखि १२ महिना सम्मको बालबालिकाको लागि आधा क्याप्सुल खुवाइने भएको छ भने, १२ महिना पुरा भए देखि ५ वर्ष सम्मको बालबालिका लागि १ क्याप्सुल खुवाइने भएको छ । जुकाको औषधि १२ महिना सम्मको बालबालिकालाई नखुवाइने भएको छ । १ वर्ष देखि २ वर्ष सम्मको बालबालिकालाई आधा चक्की खुवाइने भएको छ भने, २ वर्ष पुरा भएदेखि ५ वर्ष सम्मको बालबालिका लागि १ चक्की खुवाइने भएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया