Online Bichar
बिहिबार, माघ १९, २०७९ | Thursday, February 2, 2023

झापा, २९ असोज २०७९ । हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख बजेट प्रस्तावित गरी यस आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखिएको छ । लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापा मातहत रहेको मेची अस्पतालले दिने निःशुल्क वार्षिक उपचारका लागि सो बजेटमार्फत सेवा प्रवाहको लक्ष्य राखिएको हो ।

यस शीर्षक अनुसार वार्षिक हिंसापीडित १ सय ७० बढीले निःशुल्क सेवा पाएको विगतका विवरणहरूले देखाएको छ ।
मेची अस्पताल मातहतमा रहेको निःशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेका छन् । पछिल्लो विवरण अनुसार उपचार गर्न आउने १४ वर्ष मुनिका बालिकाको संख्या ५० प्रतिशत बढी देखिएको छ । जसमा यौन हिंसा पीडितको संख्या उल्लेख्य छ भने बाल विवाह, बहुविवाह, मानसिक हिंसालगायत अपराधबाट पीडितहरु आउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिको बैठकमा पेश गरिएको विवरण अनुसार हिंसा पीडितको सूचीमा विर्तामोड नगरपालिका, मेची नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिकाबाट बढी मात्रामा सेवा लिन आउने गरेको देखिन्छ ।
विभिन्न सरोकारवाला संघसंस्थाले उद्धार गरेपनि हिंसापीडितको उपचारका लागि नेपाल प्रहरीले अस्पतालसम्म ल्याइदिने गरेको विवरणमा उल्लेख छ । हिंसामा परेकाहरूको उपचारका लागि छुट्टै कक्षमार्फत अस्पतालमा उपचार सेवा प्रवाह गरिँदै आएको समितिका सदस्य सचिव डा। टंकप्रसाद बाराकोटीले जानकारी दिए । उनका अनुसार मेची अस्पतालमा उपचार संभव नभए अन्यत्र लगेर पनि निःशुल्क उपचार गर्ने प्रबन्ध रहेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सम्पन्न बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने प्रजिअ रिजालले महिला हिंसा न्यूनीकरण गर्न र पीडितको उपचार तथा सुरक्षाका लागि गर्न सकिने कामका लागि सुझाव समेत लिएका थिए ।

 

तपाईको प्रतिक्रिया
--> -->