Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

झापा, २५ असोज २०७९ । झापामा डेंगु सङ्क्रमणबाट जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएको छ। डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा क्षेत्री रहेका छन्। भट्टराई स्वास्थ्य कार्यालय भद्रपुरका सातौँ तहका परिवार नियोजन अधिकृत हुन्।

श्रीमती मित्रा भट्टराईको खुट्टामा चोट लागेपछि उनको उपचार गराउन भदौको पहिलो साता भट्टराई काठमाडौं गएका थिए। झापा ओहोरदोहोर गरिरहेकी उनकी छोरीलाई त्यही बेला डेंगु संक्रमण पुष्टि भयो। काठमाडौंमा पढिरहेकी छोरीलाई डेंगु भएपछि उनी फेरि दसैंमा काठमाडौं गए। काठमाडौंमा नै उनलाई डेंगु संक्रमण भयो।

काठमाडौंको हेम्स हस्पिटलमा उपचार गराइरहेका उनको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिए।

सुगर र मुटुको समस्या भएका भट्टराईलाई डेंगुले संक्रमित बनाएको उनले बताए। उनी कुल वंश प्रतिष्ठान झापाका निवर्तमान उपाध्यक्ष रहेका थिए।

त्यस्तै बिर्तामोड–३ निवासी क्षेत्रीको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। काठमाडौंको सरस्वती क्याम्पस लाइब्रेरी शाखामा कार्यरत क्षेत्रीलाई डेंगुको लक्षण देखिएको थियो। काठमाडौंमा डेंगुको लक्षण देखिएका उनलाई फूलपातीका दिन झापा ल्याई अस्पताल भर्ना गरियो।

कलेजो र मिर्गौलाले काम गर्न छाडेपछि उनको मङ्गलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।टाइम्सअफ प्रदेशबाट साभार

 

तपाईको प्रतिक्रिया