Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौ, २१ भदौ २०७९ । बैंकहरुले निःशुल्क प्राथमिक सेयर (आईपीओ) भर्न पाउने सुविधा दिन थालेका छन् । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सीआस्बा शुल्क एक आवेदकबाट अधिकतम ५ रुपैयाँसम्म मात्रै लिन पाउने व्यवस्था गरेपछि अहिले आधा दर्जन बढी बैंकहरुले निःशुल्क नै गरेका छन् ।

त्यसअघि १० देखि २५ रुपैयाँसम्म शुल्क लिँदै आएका बैंकले पनि अहिले निःशुल्क सेवा दिन थालेका छन् । पछिल्लो समय बैंकहरुबीच सीआस्बा शुल्क नलिने प्रतिस्पर्धा नै चलेको छ । हालसम्म कुमारी, सानिमा, नबिल, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र नेपाल बैंकले सूचना जारी गर्दै आईपीओ भर्दा सीआस्बा शुल्क नलिने घोषणा गरेका छन् । त्यस्तै केही बैंकले आफ्ना निश्चित खातामा सीआस्बा शुल्क नलिने व्यवस्था गरेका छन् ।

यी बाहेक अरु बैंकले पनि अब ५ रुपैयाँ भन्दा बढी सीआस्बा शुल्क लिन पाउँदैनन् । आईपीओ भर्दा आवेदकको बैंक खातामै आईपीओ भरेको रकम ब्लक हुने गर्छ । यसरी ब्लक भएको रकम बाँडफाँडपछि आईपीओ नपरेको खण्डमा फुकुवा हुन्छ भने आईपीओ परेमा सो बराबरको रकम आवेदकको खाताबाट कटौती भई बिक्री प्रवन्धकले प्राप्त गर्दछ ।

धितोपत्र बोर्डले नै गरेको व्यवस्थामा यसअघि सीआस्बा शुल्क १ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था थियो । जसले गर्दा एउटा बैंकले १ सय रुपैयाँ नै अशुल्ने गरेको थियो । यो व्यवस्थाको सेयर लगानीकर्ताले तीव्र विरोध जनाउँदै आएका थिए । आईपीओ भर्दा नपर्ने संभावना अधिक हुने तर सीआस्बा शुल्क धेरै लाग्ने गरेको भन्दै उनीहरुले धितोपत्र बोर्डलाई सीआस्बा शुल्क घटाउन आग्रह गर्दै आएका थिए । यद्यपि आईपीओ भर्दा बैंकहरुले भने प्रतिआवेदक १ रुपैयाँ सीडीएससीलाई र १ रुपैयाँ बिक्री प्रवन्धकलाई १ रुपैयाँ शुल्क बुझाउनुपर्दछ ।

 

 

 

तपाईको प्रतिक्रिया