Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ९ साउन २०७९ । झापामा आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ९८८ उद्योग दर्ता भएका छन् ।

जिल्लामा वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार रुपैयाँ उत्पादन क्षमताका १ हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार १९२ रहेका छन् भने सबैभन्दा कम उत्पादनमूलक २६२ रहेका छन् ।

त्यस्तै सेवामूलक ५३२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये व्यक्तिगत एक हजार ८८५, साझेदारी ५८ र प्रालि ४५ रहेका कार्यालयको तथ्यांकमा उल्लेख छ ।

दर्ता भएका ती उद्योगको स्थायी पुँजी रु एक अर्ब ४४ करोड ७९ लाख ३३ हजार र चालु पुँजी ती अर्ब छ करोड ७२ लाख ४१ हजार रुपैयाँ रहेको कार्यालयका उद्योग अधिकृत टंकप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।

दर्ता भएका उद्योगमा एक हजार १९६ पुरुष र एक हजार १६६ महिला गरी दुई हजार ३८९ उद्यमी रहेका छन् । ती उद्योगबाट एक हजार ४०६ महिला र एक हजार ५६६ पुरुष गरी दुई हजार ९७६ जनाले रोजगारी पाउने छन् ।

उद्योग दर्ताबापत कार्यालयले ७७ लाख १७ हजार ९०० रुपैयाँ राजस्वसमेत संकलन गरेको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया