Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ८ असार २०७९ । गौरादह नगरपालिकाको १० औं नगरसभाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

आज(बुधबार) नगरपालिकाको सभाहलमा वार्षिक नीति तथा कार्यक्रममा गत आर्थिक वर्षको समिक्षा गर्दै नगर प्रमुख सुवेदीले आठौं नगर सभाले स्वीकृत गरेको अनुमानित बजेट ६८ करोड ६६ लाख ८७ लाख ४ सय रहेकोमा निर्वाचित क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत संघ र प्रदेशबाट प्राप्त शसर्त अनुदान समेत थप गरि जेष्ठ मसान्त सम्ममा ७८ करोड ९६ लाख ८२ हजार ३ सय ४ रुपैयाँ रहेकोमा नगरपालिकाले ६१.५ प्रतिशत खर्च गर्न सकेको बताएका छन् ।

चालु आर्थिक वर्षमा आवधिक र दीर्घकालीन नितिहरु परिणाममुखी नदेखिएकाले यस आर्थिक वर्षमा परिणाम मुखी कार्यक्रमलाई वार्षिक नीति तथा कार्यक्रममा समेटिएको उल्लेख गरिएको छ । गौरादह नगरपालिका भित्र बसोबास गर्ने अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेकाले किसानलाई प्रोत्साहन गर्न १० औं नगरसभामा कृषिलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम बनाएको देखिन्छ । गौरादह नगरपालिकाको सभाहलमा नगर प्रमुख सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका भित्र रहेका सिंचाइका स्रोतहरुलाई मर्मत तथा निर्माण गर्दै किसानका खेत सम्म पानीको व्यवस्था गर्ने देखि बीउ बिजन सहज उपलब्ध गराउनुका साथै नगर भित्र प्राङ्गारीक जैविक मल उत्पादन गर्ने सम्म समेटिएका छन्।

नीति तथा कार्यक्रममा कृषि सहकारीलाई प्रबर्द्धन गर्दै कृषि उत्पादनलाई मूल्य श्रृङखलाको आधारमा बजार सँग आबद्ध गराईने, सामुहिक खेती प्रणालीलाई अन्य वडामा बिस्तार गर्ने, कृषिकार्य र पशुपंक्षी पालन कार्यलाई आधुनिकिकरण गर्दै पशु बिज्ञ केन्द्रहरु सँगको सहकार्यमा व्यावसाय मुलक कार्यमा परिणत गर्न प्रोत्साहन गर्ने रहेका छन्। कृषि प्राविधिकलाई किसानका खेतबारी र पशुपंक्षीका गोठ सम्म पुगेर सेवा उपलब्ध गराइने, सहकारी संस्थाहरु सँग समन्वय गरि कृषि यान्त्रिकरण न्युनतम भाडा दरमा किसानलाई उपलब्ध गराउने रहेका छन्।
नगरपालिकाले यसै आर्थिक वर्षबाट गौरादहमा रहेको स्वास्थ्य केन्द्रलाई ५ बेडको अस्पताल रुपान्तरण गर्ने भएको छ। स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरि स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने निति तथा कार्यक्रममा समेटिएको छ। गौरादह नगरपालिका भित्र बसोबास गरेका बिपन्न वर्गका गर्भवती महिलाहरुलाई झापा तथा सुनसरी र मोरङका अस्पतालहरुमा सुत्केरी गराउन लैजान एम्बुलेन्स सेवा निसुल्क उपलब्ध गराइने निति तथा कार्यक्रममा समेटिएको छ।

नीति  तथा कार्यक्रममा भौतिक पुर्वाधार बिकास, शहरी तथा ग्रामीण पुर्वाधार तथा भू-उपयोग, पर्यटन, उर्जा,सहकारी तथा उद्योग, सामाजिक बिकास अन्तर्गत शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी, भाषा कला साहित्य धर्म संस्कृति, लक्षित बर्ग बिकास कार्यक्रम, अपांग अशक्त तथा असहाय, बिपन्न दलित, आदिवासी, जनजाति मधेसी मुस्लिम पिछडा बर्ग, वातावरण र बिपद व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा प्रवाह, गरिबी निवारण तथा रोजगारी सृजना लगायतका बिषयलाई नीति तथा कार्यक्रममा समेटिएका छन्।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया