Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

अनलाइनविचार संवाददाता
गौरादह, ६ जेठ २०७९ । नेपाली कांग्रेसले गौरादह नगरपालिका वडा नं.७ को मत गणनामा धाँधली भएको भन्दै पुनः मत गणनाको माग गरिएको छ। मत गणना स्थलमा मत गणना पारदर्शी नभएको भन्दै गठबन्धनका मतदान प्रतिनिधि सहभागी नहुने भएपछि मतगणना रोकिएको छ। निर्वाचन कार्यालयबाट भएको मतगणना पारदर्शी नभएको, पार्टी प्रतिनिधिले हस्ताक्षर नगरी विजयी घोषणा गरेकोमा आपती जनाउदै पुनः मतगणनाको माग गरेको वडा नं.७ वडाध्यक्षका उमेदवार दिलनाथ कटुवालले बताए।

मतगणना सकिएपछि वडाध्यक्षका उमेदवार कटुवालले निर्वाचन अधिकृत समक्ष पुनः मतगणनाको माग गर्दै लिखित निवेदन दिएका छन। वडाध्यक्षका उमेदवार कटुवालका अनुसार वडा नं.७ मा ३ हजार ५ सय २८ मत खसेकोमा मतगणना हुदा ३ हजार ५ सय २४ ब्यालेट पेपर भेटिएकोमा निर्वाचन अधिकृत माथि शंका उत्पन्न भएको दाबी गरेका छन। मतदान केन्द्रबाट मतपेटिका सँग आएको मुचुल्का, विवरण र मत पेटिका भित्र रहेको ब्यालेट पेपरलाई हेर्दा ४ मत घटि भएकोमा मतगणना मान्य नभएको कटुवालको भनाइ छ। मतगणना सकिनसाथ गठबन्धनका प्रतिनिधिलाई हस्ताक्षर नगराई एमालेका वडाध्यक्ष उमेदवार बलराम खरेललाई निर्वाचन अधिकृतले मनोमानी ढङ्गले १ मतले विजय गराएकोमा आफुहरुलाई मान्य नहुने कांग्रेस गौरादहले जनाएको छ। वडा न.७ को वडाध्यक्षमा एमालेका उम्मेदवार बलराम खरेलले १ हजार २० मत ल्याएर विजयी भएको घोषणा निर्वाचन कार्यालयले गरेको थियो। गठबन्धनका उमेदवार नेपाली कांग्रेसका दिलनाथ कटुवालले १ हजार १९ मत ल्याएको निर्वाचन कार्यालयले घोषणा गरेको थियो। एक्लौटी ढङ्गले गरेको घोषणा प्रति गठबन्धनले असन्तुष्टी जनाउदै पुनः मतगणनाको माग गरेको छ। गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दिलनाथ कटुवाल र एमालेका उम्मेदवार बलराम खरेलले अन्तिम मत परिणाम घोषणा हुनु केही समय अगाडि समान ९ सय ९१ मत प्राप्त गरेको निर्वाचन प्रमुखले घोषणा गरेका थिए।

निर्वाचन कार्यालयको घोषणा प्रति असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका कार्यकर्ता र समर्थकहरुले निर्वाचन कार्यालय रहेको नगरपालिका अगाडि नाराबाजी सहित बिरोध प्रदर्शन गरेका छन्। कार्यकर्ता र समर्थकहरुबाट बिरोध प्रदर्शन भएपछि नगरपालिका परिषर दिन भर तनाबग्रस्त भएको थियो। निर्वाचन प्रमुख गौरादहका अनुसार निर्वाचन निर्देशिका र मतगणना निर्देशिका अनुसार मतगणना र घोषणा गरिएकोमा आफू काहीं कतै नचुकेको गौरादहका निर्वाचन प्रमुख बिदुर कार्कीले बताए । निर्वाचन निर्देशिका बमोजिम सर्वदलीय बैठक बसि मतपेटिका भित्र रहेको मतपत्रलाई सदर मानी मतगणना गरिएको जानकारी गराए। मतदान स्थलमा रहेका मतदान प्रतिनिधिलाई हस्ताक्षर गराई निर्देशिका बमोजिम मतगणना सकिएपछि अन्तिम मत परिणाम निर्वाचन कार्यलय पठाई स्वीकृत भएपछि घोषणा गरिएको निर्वाचन प्रमुख बिदुर कार्कीले बताए।

तपाईको प्रतिक्रिया