Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काठमाण्डौ, २७ चैत २०७८ । देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वाणिज्य बैंकहरूले विभिन्न सामान आयातका लागि प्रतितपत्र अर्थात् एलसी नखोल्ने भएका छन् । आज आइतवार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायतका सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएकोमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरुको बैठकले औपचारिक रूपमै निर्णय गरेर एलसी नखोल्ने निर्णय गरेको हो । कम्तीमा एक हप्तासम्म विलासी वस्तु आयातका लागि एलसी नखोल्ने र थप निर्णय अर्को बैठकले गर्ने एक सीईओले बताएका छन् ।

राष्ट्र बैंकको मौखिक निर्देशन भएकाले यसअघि बैंकका केही शाखाले विलासी वस्तु आयातका लागि पनि एलसी खोल्दै आएकोमा अब बैंकर्स सङ्घले नै आधिकारिक निर्णय गरेकाले मोबाइल, रक्सी, फर्निचर लगायतका वस्तु आयातमा एलसी खोल्ने काम बन्द भएको छ ।

डलरको सञ्चिति घट्ने क्रम रोक्न राष्ट्र बैंकले यसअघि नै झन्डै एक हजार तीन सय प्रकारका वस्तु आयातका लागि एलसी खोल्दा पचासदेखि एक सय प्रतिशतसम्म नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । बैंकर्स सङ्घको आजको निर्णयले विलासी वस्तुको आयात कम हुने र डलर सञ्चितिमा केहि राहत हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments