काठमाडौं, २१ चैत २०७८ । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंकका सीईओहरुलाई सकेसम्म एलसी खोल्न बन्द गर्न भनेको छ । सोमबार राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नुपर्ने रणानीति राष्ट्र बैंकले अघि सारेको एक बैंकका सीईओले बताए ।
‘छलफलमा आयात कसरी रोक्न सकिन्छ भन्ने कुरा भएको थियो,’ ती सीईओले भने, ‘सकेसम्म शतप्रतिशत नगद मार्जिन नलिई कुनै पनि वस्तु आयातका लागि एलसी नखोल्न र खोल्नै पर्दा पनि अत्यावश्यका लागि मात्रै एलसी खोल्न भन्नु भएको छ ।’