शान्ति सुब्बा
गौरादह, १४ चैत २०७८ । झापाको गौरादहमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आईतबार गौरादह-१ को जानकीश्वर शिवालय मन्दिरको सभाहलमा १ दिने कार्यक्रम सम्पन्न गरेको हो ।
समूहमा आबद्ध रहेका महिलाहरुलाई वित्तीय व्यवस्थापनमा साक्षरता बनाउन, कुनै पनि व्यवसाय गर्दा हुन सक्ने जोखीमहरु बाट कसरी बच्ने, वित्तीय सहजता ल्याउन का साथै कर्जा कसरी लिने र पैसा कसरी बचाउन सकिन्छ भन्ने लगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको निर्धन उत्थान वित्तीय संस्था लिमिटेड गौरादहका शाखा प्रमुख दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
१ सय २५ जना महिलाहरुले सहभागिता जनाएको कार्यक्रममा क्षेत्रीय कार्यालय बिर्तामोडबाट आउनु भएका कार्यक्रम अधिकृत महेन्द्र बहादुर कुँवर र गौरादह शाखाका शाखा प्रमुख घिमिरेले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा सहभागिहरुलाई वित्तीय साक्षरताको परिचय, यसको आवश्यकता, वित्तीय लक्ष्य निर्धारण सम्बन्धि कसरी आम्दानी बढाउने, बचत भनेको के हो?, कसरी बचत गर्ने, कति बचत गर्ने, बचत किन र के का लागि गर्ने, बचत गर्दाका फाइदाहरु, जोखीम भनेको के हो?, जोखीमले के कस्ता असर पुराउँछ,, जोखीम सामना गर्ने उपायहरु, ऋण लिने कारणहरु, संस्थाले ऋण लगानि गर्दा र सदस्यले ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु साथै मिटर ब्याज भनेको के हो ? भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
यस्तै, वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वीमा, वित्तीय साक्षरताको महत्व, डिजिटल पासबुक लगायतका विषयमा दृश्य सामग्री प्रस्तुत गरिएको थियो। गौरादह-१ स्थित गौरादह बजारमा २०६६ सालमा स्थापना भएको यस संस्थाले बैंकहरुमा पहुँच हुन नसक्ने विपन्न वर्गलाई घरमै पुगेर कर्जा दिँदै आएको, समय-समयमा तालिमहरु प्रदान गर्दै आएको, उनिहरुको आर्थिक अवस्थामा सुधार, दैवी प्रकोपमा परेकाहरुलाई राहत उपलब्ध, उपचार खर्च, सुत्केरी स्याहार खर्च लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको संस्थाका शाखा प्रमुख घिमिरेले बताउनुभयो । यस संस्थाको केन्द्रिय कार्यालय काठ्माडौंमा रहेको छ भने, हाल ७७ जिल्लामा १ सय ८१ वटा शाखा कार्यालय र १० जटा क्षेत्रीय कार्यालय रहेको शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।