काठमाडौं, २७ फागुन २०७८ । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ ।
कोकाकोलाको उत्पादक कम्पनी बोटलर्सविरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोडको पूँजीगत लाभ कर छली मुद्दा दायर गरेको हो ।
विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर तथा बिगो दावी मुद्दा दायर गरेको विभागले जनाएको हो ।
बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोपमा लामो समयदेखि छानबिन हुँदै आएको थियो ।
बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर राजस्व चुहावट ऐन, २०५२ बमोजिम सजाय हुन मागदावी गर्दै अभियोग पत्र दायर गरेको विभागले जनाएको छ ।