Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

प्रदिप धमला
गौरादह, ९ फागुन २०७८ । आगो र मानिसको बिचमा नजिकको सम्बन्ध रहेको छ । परापूर्वकालदेखी नै दैनिक जीवन यापन गर्ने क्रममा खाना बनाउने जस्तो तथा अन्य कुराहरु गर्न आगो अति आवश्यक वस्तु हो । पहिलेको समयमा विद्युतको अभाव भएको बेलामा पनि आगोको माध्यमबाट रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने प्रचलन रहि आएको थियो ।

विभिन्न किसिमका युद्धहरुमा पनि आगोको माध्यमबाट मानिसले शत्रुहरुसँग विजय प्राप्त गरेका थिए । हालको एक्काईसौं शताब्दिसम्म आई पुग्दा पनि मानिहरुले आगोलाई विभिन्न माध्यमद्वारा उपयोग गरिरहेका छन् । वास्तवमा आगो भएन भने मानिसको आफ्नो जीवन चल्न गाह्रो हुने गर्दछ तर त्यही अत्यावश्यक आगो जुन हामीलाई नभई हुदैन त्यही आगोले हामी मानिसको ज्यान लिनुको साथै हाम्रा संरचनाहरु पनि सखाप बनाउँदछ । विभिन्न प्रकारका उद्योग तथा कलकारखानाको पनि विनास गराउन आगो सफल बन्दछ । नेपालमा मात्र नभएर संसारभरी नै आगोले मानिस, कलकारखाना तथा वन जंगलहरुमा ठुलो क्षति पुर्‍याउँदछ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

मौसमको परिवर्तनसँगै पृथ्वीमा आउने विभिन्न प्रकारका मौसमी तथा ऋतु परिवर्तनका गतिविधिहरुले गर्दा वर्षैनि आगोलागीका घटनाहरुमा वृद्धि भई ठुलो धन जनको क्षति हुने गरेको छ । विशेषगरी हेमन्त ऋतु, शीशीर ऋतु, बसन्त ऋतु तथा ग्रिष्म ऋतुमा आगोलागीका घटनाहरु बढि हुने गरेका छन् । गर्मी महिना लागेसँगै आगलागीका घटनाहरु बढ् नथाल्छन् । गर्मी महिनामा बढिजसो हावा, हुरी चल्ने हुनाले सानो आगोको झिल्कोबाट नै भिषण आगलागी हुने खतरा बढ्छ । यो समयमा हामीले आगोलाई एकदमै होसियारपूर्वक प्रयोग गर्नु पर्छ । आगलागी आगोको कारणबाट मात्र नभएर अन्य कारणहरुबाट पनि लाग्दछ । दिनहुँ कतै न कतै आगलागी भएकै हुन्छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनमा आगलागीको घटना नभएको दिन पाउँन दुर्लभ हुन्छ । आगो ताप्दा वा खाना बनाउँदा आगोले पोलेर ज्यान जाने गम्भीर घटना पनि उत्तिकै छन् । आगलागी नभएको नेपालका कुनै गाउँ, सहर होलान् र ? बालबालिका र भान्सामा काम गर्ने मानिस आगोको जोखिममा बढी छन् । आगलागी हुने वा आगो प्रयोग गर्दा विभिन्न दुर्घटना हुने अनेक कारण छन् । नेपालमा आगलागीको जोखिम कम गर्ने एवम् आगो निभाउने प्रविधि, उपकरण र जनशक्ति कम रहेको छ ।

नेपाल प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा आगलागीका दश हजार घटनाहरु भएका छन् । ति घटनामा ३०५ जनाको मृत्यु र एक हजार ५७७ जना घाईते भएका छन् । नेपाल प्रहरीका केन्दीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार के. सी. का अनुसार यो अवधिमा पाँच हजार ६७० घर, ६९१ चौपाया र एक हजार ७५१ गोठ जलेर नष्ट भएका छन् । आ.व. २०७३/७४ मा एक हजार ५४१, २०७४/७५ मा एक हजार ७९२, २०७५/७६ मा दुई हजार ३३९, २०७६/७७ मा दुई हजार ८५३ / २०७७/७८ मा दुई हजार ८५३ आगलागीका घटनाहरु भएका छन् । दिनँहु जसो कहि न कही हुने गरेको यस्तो आगलागीको घटनाबाट ठुलो जिउँ घनको क्षति भएको अवस्थमा पनि प्रभावकारी रुपमा रोकथामको कार्य भएको छैन । आगोको नियन्त्रण तथा रोकथाम गर्ने प्रभावकारी उपकरण बारुणयन्त्र तथा दमकलको अझै पनि नेपालका सवै स्थानीय तहहरुमा पुर्‍याउन सकेको छैन । दमकलजस्तो अत्यावश्यक उपकरणलाई सवै स्थानीय तहहरुले प्राथमिकताका साथ खरिद गरेको पनि पाईदैन ।

हाल नेपालका ७५३ स्थानीय तह मध्ये ६५५ वटा गाउँपालिका तथा नगरपालिका अझै पनि दमकल विहिन छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुसार ७५३ वटा स्थानीय तहमध्ये ६ वटा महानगरपालिकामा २१ वटा, उप-महानगरपालिकामा २२ वटा, नगरपालिकामा ७३ वटा दमकल रहेका छन । काठमाडौं महानगरपालिकामा ६ वटा, ललितपुर महानगरपालिकामा ३ वटा, पोखरा महानगरपालिकामा ३ वटा, भरतपूर महानगरपालिकामा २ वटा, विरगञ्ज महानगरपालिकामा ३ वटा र विराटनगर महानगरपालिकामा ४ वटा दमकल रहेका छन भने ४५२ वटा गाउँपालिका अझैं दमकल विहिन रहेका छन । स्थानीय सरकार संचालन ऐन, २०७४ ले दमकल जस्तो अत्यवश्यक उपकरणको संचालन गर्ने जिम्मा स्थानीय सरकारलाई नै दिएको छ । त्यस्तै, विपद् जोखिम तथा न्युनिकरण ऐन, २०७४ ले पनि दमकलको संचालन गर्ने जिम्मा स्थानीय तहहरुलाई नै दिएको छ । नेपालको वार्षिक बजेटमा पनि प्रत्येक स्थानीय तहमा दमकल राख्नु पर्ने भनि व्यवस्था गरेको छ । यस्तो अत्यवश्यक उपकरण दमकललाई बाँकी रहेका सवै स्थानीय तहहरुले खरिदको प्रकृया चाँडो अगाडी बढाउनु पर्ने देखिन्छ । जुन स्थानीय तहहरुमा दमकलको व्यवस्था छ ती स्थानीय तहहरुले दमकललाई तयारी अवस्थामा राखेर संचालन गर्नु पर्दछ । स्थानीय तहलाई दमकल संचालनको जिम्मा दिएता पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई पनि दमकलको व्यवस्था गर्नु पर्दछ । ती सूरक्षा निकायका मानिसहरु आगलागी तथा अन्य विपत्ति परेको वेलामा सवै भन्दा छिटो पुग्ने तथा अग्र पंङ्तिमा रहेर काम गर्नु पर्ने भएको हुँदा ती सुरक्षा निकायलाई पनि दमकलको व्यवस्था गर्न सकेमा अझै प्रभावकारी हुने देखिन्छ ।

विभिन्न कारणहरुबाट आगलागीका घटनाहरु हुने गर्दछन् जस्तै: बिजुलीको तार सर्ट हुनु, भान्साबाट आगो उत्पन्न हुनु, खाना पकाउने ग्यास लिक भई आगो उत्पन्न हुनु, एक स्थानबाट बलेको आगो अन्यत्र सल्किनु, सलाई, लाईटरको लापरवाही पूर्ण प्रयोग, लामखुट्टे धपाउन धुप बाल्नु, सवारी साधनमा अचानक आगो लाग्नु र थ्रेसरबाट गहुँ झार्ने क्रममा अचानक आगो निस्किई आगलागी हुनु तथा अन्य विभिन्न कारणहरुका कारणले गर्दा आगलागी हुने गरेका छन् । चट्याङ लगायतका कारणहरुबाट पनि आगलागी हुने सम्भावना बढि रहेको छ । ती विभिन्न कारणबाट हुने आगलागीका कारण ठुलो जनधनको क्षति हुने गरेको पाईन्छ । हाम्रो थोरै हेलचेक्य्राईले गर्दा करोडौको नोक्सानी हुने गर्छ ।

त्यसैले, यस्ता आगलागीका घटनाहरुबाट बच्नको लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ जस्तै: सलाई, लाईटर जस्ता आगोजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्ने, घरको शयनकक्ष वा अन्य आवश्यक स्थानहरुमा Smoke Detector राख्ने, अनिवार्य रुपमा घरमा Fire Extinguisher राख्ने तथा कसरी प्रयोग गर्ने भन्ने कुरा परिवारका सवैलाई जानकारी गराउने, आगलागी भएको अवस्थामा घर भित्र नलुक्ने तथा परिवारका सवैलाई चाडो बाहिर निकाल्ने, धुवा भएको स्थानबाट बाहिर निस्कदा घोप्टो परेर वा घस्रेर निस्कने, लगाएको कपडामा आगोले भेट्यो भने कदापि नदौडीने दौडदाखेरी आगो अझ बढि बल्ने हुँदा कपडामा लागेको आगो निभाएर मात्रै दौडने र आगलागी भएको जानकारी हुनसाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय प्रहरीहरुलाई जानकारी गराउनु पर्दछ ।

 

तपाईको प्रतिक्रिया