Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाण्डौ, ३ फागुन २०७८ । इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि हप्तामा दुई उडान हुने भएको छ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हप्तामा दुई वटा उडान गर्ने जनाएको छ ।

निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले हरेक आइतवार र बिहीवार काठमाण्डौदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

धावनमार्ग कालोपत्र भइ परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र तारा एअरको संयुक्त पहलमा विमानस्थलमा हप्ताको दुई वटा नियमित उडान हुन लागेको हो । फागुन ११ देखि काठमाण्डौबाट बिहान ११ बजे र इलामबाट दिउँसो साढे १२ बजे उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताउनुभयो । काठमाण्डौबाट इलामसम्मको उडान अवधि झन्डै एक घण्टाको हुनेछ । हवाई यात्राका लागि अहिले एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड र तारा एअरको पहलमा नियमित उडान सञ्चालन हुन लागेकोमा आभार प्रकट गर्नुहुँदै आउँदा दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पया–पर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ ।

नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व जान चाहने आन्तरिक पर्यटकको सश्ख्यार् बढिरहे पनि सडक यातायातमा झन्झटिलो र समय लाग्ने भएकाले हवाई यात्राबाट पर्यटक सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।

इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पान्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आर्कषणका केन्द्रहरू हुन् ।

फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राका लागि सहज हुनेछ ।

 

तपाईको प्रतिक्रिया