Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

प्रदिप धमला
गौरादह, १६ माघ २०७८ । कुनै पनि देशको भु-धरातलमा विद्यमान ताल, नदी, कुवा, भुमिगत जल आदिको समष्टिलाई जलसम्पदा भनिन्छ । जल सम्पदाले पृथ्वीको सतह र सतह भित्र पाईने जलको समष्टिगत स्वरुप भन्ने पनि बुझिन्छ । नेपाल जल सम्पदाको दृष्टिले विश्वकै दोस्रो र एसिया महादेशको पहिलो धनि राष्टको रुपमा चिनिन्छ ।

नेपालको कुल जलभण्डार क्षमता २ लाख २ हजार मिलियन क्युविक मिटर रहेको छ । उत्तर दक्षिण पहाडी ढालका कारण प्रायः दक्षिण तर्फ वग्ने झण्डै ६००० भन्दा वढी नदिनालाहरु नेपालमा छन् भने ११ कि.मी भन्दा लामा नदी करीव १००० वटा र १६० कि.मी भन्दा लामा करीव १०० नदीहरु नेपालमा पर्दछन । नेपालमा साना ठुला गरी करीव ५३५८ वटा तालहरु र २३२३ वटा हिमतालहरु रहेका छन । नेपालमा साना ठुला गरी ५३०० भन्दा वढी सिमसार क्षेत्रहरु रहेका छन भने १० वटा सिमसार क्षेत्रलाई रामसार सूचिमा सूचिवद्ब गरिएको छ ।

नेपालमा वग्ने नदीहरुको जलविद्युत उत्पादन क्षमता ८३००० मेगावाट रहेको अध्ययनले देखाए तापनि आर्थिक तथा प्राविधिक दृष्टिकोणले यहाँ बग्ने नदीबाट ४२००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने देखिएको छ । नेपालको १५ औ योजना अनुसार नेपालमा उत्पादित जलविद्युत उत्पादन १०२० मेगावाट रहेको छ भने यसलाई ५००० मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ । नेपालभर बग्ने नदीनालाहरुको कुल सरदर लम्बाई ४५००० कि मि रहेको छ जसले कुल भूभागको २।९ प्रतिशत क्षेत्रफल ओगटेको छ भने १७ लाख ६६ हजार हेक्टर भूमिमा सिचाई गर्न सकिन्छ । नेपालमा बग्ने ६००० भन्दा वढी नदीनालाहरुलाई तिनीहरुको उदगमस्थल, स्थायित्व, पानीको वहाव क्षमता आदिको आधारमा तिन स्तरमा विभाजन गरिएको छ । जसमा पहिलो स्तरका नदी नेपालको उत्तरमा फैलिएका उच्च हिमाली पर्वत श्रृंखलामा रहेका हिउँ पग्लिएर उत्पति भई अटुटरुपमा उत्तरबाट दक्षिणतर्फ वग्ने ठुला र लामा स्तरका नदीहरुलाई प्रथम स्तरका नदीहरु भनिन्छ । सप्तकोशी, सप्तगण्गडी, कर्णाली नदीका सहायक नदीहरु यस अन्तर्गत पर्दछन । जसले नेपालको कुल जलसम्पदाको करिव ७४ प्रतिशत हिस्सा ओगट्दछ । पहिलो स्तरका नदीहरु आर्थिक, धार्मिक, साँस्कृतिक एवं पर्यावरणीय दृष्टिकोणले अतिनै महत्वपूर्ण छन् ।

महाभारत पर्वत श्रेणीबाट उत्पति भई बग्ने मध्यम दुरी र आकारका नदीहरुलाई दोस्रो स्तरका नदीहरु भनिन्छ । यस्ता नदीहरु हिउँदमा सानो र वर्षातमा भेल बाढीसहित बग्ने गर्दछन । मेचि, त्रियुगा, कमला, बाग्मती, कन्काई, राप्ती, बबई, तिलाउ, मोहना आदी यस अन्तर्गत पर्दछन । यस प्रकारका नदीहरु सिचाई विद्युत उत्पादन लगायतका दृष्टिले बढी उपयोगी मानिन्छन । चुरेपर्वत तथा भावरको माथिल्लो भागबाट उत्पती भई बग्ने छोटो दुरीका नदीहरुलाई तेस्रो स्तरका नदीहरु भनिन्छ । यस्ता नदीहरु वर्षातमा ठुलो रुप लिने र हिउँदमा सुक्ने गर्दछन । त्यसैले तेस्रो स्तरका नदीहरुलाई मनसुनी अस्थायी नदीहरु पनि भनिन्छ । निर्माण सामाग्रीका स्रोतहरुको संकलन गर्ने तथा वर्षायाममा सिचाई गर्ने दृष्टिकोणले यिनीहरुको महत्व रहेको छ भने ठुलो क्षेत्र ओगट्ने तथा कृषिभुमिमा क्षति पूर्‍याउने भएकोले तेस्रो स्तरका नदीहरुको फाईदा भन्दा बेफाईदा बढी रहेको छ । सिर्सिया, डुण्डुवा, तिलावे, मनुमसारा, हर्दिनाथ, रतुवा, अर्जुन खोला जस्ता नदीहरु यस स्तरका नदीहरुमा पर्दछन ।

त्यस्तैगरी नेपाललाई नदीका आधारमा ३ भागमा विभाजन गरिएको छ जसलाई कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश भनि विभाजन गरिएको छ । पूर्वमा कञ्चनजंघादेखी पश्चिममा लामटाङ हिमालसम्म सप्तकोशीको वहाव क्षेत्र रहेको छ जसलाई कोशी प्रदेश समेत भन्ने गरिन्छ । यो नेपालको सवैभन्दा ठुलो नदी तथा विश्वको बढी बालुवा बोक्ने दोस्रो ठुलो नदी हो जसको नामाकरण कौषिक ऋषिको नामबाट भएको हो । यसका सहायक नदीहरुमा तमोर, अरुण, दुधकोशी, लिखु, तामाकोशी, सुनकोशी र ईन्द्रावती पर्दछन । सप्तकोशीका वहाप क्षेत्र भित्र विश्वका ८००० मिटर भन्दा अग्ला हिमाल मध्ये ५ वटा हिमशिखरहरु सगरमाथा, कञ्चनजंघा, ल्होत्से, चोयु, मकालु पर्दछन भने पवित्र धार्मिकस्थल बराह क्षेत्र, हलेशी महादेव, तथा विश्वकै होचो उपत्यका अरुण उपत्यका समेत यसै क्षेत्र भित्र अबस्थित रहेका छन । यसलाई भारतमा दामोदर नदी तथा विहारका दुःखका नामले समेत चिनिने गरिन्छ भने कोशी नदी भारतमा विहारको करसेलामा गई गंगा नदीमा मिसिन्छ ।

यस नदीको विद्युत उत्पादन क्षमता २२००० मेगावाट रहेको छ भने औषत जलप्रवाह १५६४ घनमिटर प्रतिसेकेण्ड र सिंचित क्षेत्र ३३००० वर्ग कि मि रहेको छ । तिब्बत देखि विहारको करसेलासम्म गरेर यसको कुल लम्बाई ७२० कि मि रहेको छ भने नेपाल भित्रको लम्बाई १५२ किलोमिटर रहेको छ । पूर्वमा लाङटाङ् हिमालदेखि पश्चिममा धौलागिरी हिमालसम्म सप्तगण्डकीका ७ सहायक नदीहरुको बहाव क्षेत्रलाई गण्डकी प्रदेशका नामले चिनिन्छ । यो नेपालको सवैभन्दा गहिरो नदी हो यसको नामाकरण गण्डक ऋषिको नामबाट राखिएको हो । यसका सहायक नदीहरुमा कालीगण्डकी बुढीगण्डकी मादी दरौदी त्रिशुली सेती र मर्साङ्दी पर्दछन । यसलाई चितवन वा तराई प्रवेश गरेपछी नारायणी नदीका नामले चिनिन्छ । यस नदीको विद्युत उत्पादन क्षमता २१००० मेगावाट रहेको छ । पूर्वमा धौलागिरी हिमालदेखी पश्चिममा व्यास हिमालसम्म वहाव क्षेत्र रहेको कर्णाली नदीका सहायक नदीहरुले ओगटेको क्षेत्रलाई कर्णाली प्रदेश भनि चिनिन्छ । यसका सहायक नदीहरुमा सानो भेरी, ठुलो भेरी, मुगु कर्णाली, तिला कर्णाली, हुम्ला कर्णाली, बुढी गंगा र सेती गण्डकी नदीहरु पर्दछन । यस नदीको कुल विद्युत उप्पादन क्षमता ३२००० मेगावाट रहेको छ ।

नेपालमा जलसम्पदाको अतिनै धेरै महत्व रहेको छ । जलसम्पदाको माध्यमबाट हामीले आफैं विद्युत उत्पादन गरेर आत्मनिर्भर हुन सक्दछौ । दैनिक जीवनयापन गर्दा पानीको अतिनै ठुलो महत्व रहेको छ । नेपालको तराई भू-भाग कृषिको लागि लाभदायिक मानिन्छ । कृषिको लागि पनि पानी नभई नहुने बस्तु हो । पानीविना मानिसको अस्तित्वनै समाप्त हुन्छ त्यसैले गर्दा पानीको महत्व मानव जीवन गाईबस्तु तथा निर्जीव जीवनको लागि पनि अत्यावश्यक रहेको छ । पानीको सहि सदुपयोग गर्न सकेमा हामी धनि बन्न सक्दछौ । पानी भनेको मुद्धा तथा पैसा पनि हो यसलाई हामीले चिन्न सकेमा देशको आर्थिक उन्नती सम्भव हुने थियो ।

तपाईको प्रतिक्रिया