पुस्तक चर्चा
डण्डिराज(बिबेक) घिमिरे, २७ कार्तिक २०७८
मोचन उपन्यास नेपाली आख्यान सहित्यमा सामाजिक यथार्थवादी उपन्यासको रुपमा उभिएको पाइन्छ । उपन्यासकार तुलसी आचार्यले नेपाली समाजमा छरपष्ट भएर बसेका यथार्थ समस्यालाई दुरुस्त मोचनमा प्रस्तुत गरेका छन् ।

अमेरिकाबाट विद्यावारिधि गरेका उपन्यासकार आचार्यले मोचन उपन्यासमा वर्तमान नेपाली समाजले भौतिक सुखसयलको अमेरिकी मोहमा भोगिरहेको तितो यथार्थ मीठो शिल्पमा पस्केका छन् ।

लेखक भनेको आफ्नो समाजको भुक्तभोगी हुन्छ । उसले प्रस्तुत गरेको यथार्थ त्यस सजिव समाजको साझा यथार्थ हुन्छ । समकालिन नेपाली समाजले प्रत्यक्ष अनुभूत गर्ने घटना यस उपन्यासको यथार्थ कथानक भएर उभिएको छ ।

अमेरिकासंग भुक्तभोगी कलमले देखेको र लेखेको यस उपन्यासमा विद्यावारिधि गर्ने सपना बोकेर अमेरिका पुगेको उपन्यासको नायक जीवन विवाह गर्न घर फर्किन्छ ।
विवाह गरेपछि दुईजनाको कमाइले अमेरिकाको बसाइ सहजहुने आर्थिक स्वार्थमा स्टाफ नर्स पढेकी आश्मासंग जीवनले विवाह गर्छ । आश्माले पनि विवाहलाई भावनात्मकता र ब्यवहारिकता भन्दापनि अमेरिका छिर्ने माध्यमको रुपमा प्रयोग गर्छे ।

विवाह गरेको दुई महिना पछि तुरुन्तै अमेरिका पुगेकी आश्मा र जीवनको दाम्पत्य जीवनमा कहिल्यै पनि आपसि मेलमिलाप र समझदारी हुँदैन । विवहा भयो तर भावनात्मक रुपमा दुईजना पति–पत्नी हुन सकेनन् । सम्बन्ध सुधार होला भन्ने प्रतिक्षामा पाँच बर्षका दैनिकी कहालीलाग्दो सितयुद्धमा अत्यासमय भएर बित्यो ।
आपसि बेमेलका बीच पनि उनीहरुले आर्थिक उपार्जन त राम्रै गरे गाडि पनि किने भोगविलासको जीवन बाँच्न सक्षम पनि भएका थिए तर आर्थिक पक्षलाई केन्द्रमा राखेर गरिएको विवाहले उनीहरुलाई पारिवारिक खुसी र शुख मिल्न सकेन ।

विवाह बैधानिकता र औपचारिकताको पाँच बर्षमा पनि पे्रममय पति–पत्नी बन्न नसकेपछि जीवनले आश्मालाई त्याग्ने एकतर्फी निर्णय गरेर एक्लै नेपाल फर्कने दोधारको मनोवादबाट मोचन उपन्यासको कथा सुरु हुन्छ ।

वर्तमान नेपाली समाजको विसङ्गत पक्ष नै हो अमेरिका छिर्न जस्तोसुकै जोखिम पनि उठाउन तयार हुनु । अमेरिकी मोहमा २० बर्षकी केटीले ७० बर्षको बुढोसंग अनमेल बिहे गरेका घटना समाजमा प्रशस्त छन् ।

जीवन नेपाल आएर घरपुगेको दुई दिनमा नै आश्मासंग विवहाको तय भयो । घर परिवार, आफन्त, केटाकेटी कसैले पनि विवहाको मर्म र भावनात्मकतालाई ध्यान दिएनन् । केटालाई नर्सिङ पढेकी केटी भए कमाइ राम्रो हुन्थ्यो भन्ने स्वार्थ थियो भने केटीलाई केटोसंग भन्दा पनि अमेरिका प्रतिको मोह थियो । दुबैजनाको मनोविज्ञान एकअर्कामा मेल हुनैनसक्ने थियो । जीवन पूर्वीय सभ्यतामा मात्र रमाउन सक्थ्यो भने आश्मा पाश्चात्य संस्कृतिलाई मात्र आधुनिक सभ्यता ठान्दथी त्यसकारण उनीहरुमा मेलहुने सम्भावना नै थिएन ।

वैवाहिक जीवनको आधादशक भोगिसक्दा पनि श्रीमान श्रीमतीको अर्थवरण गर्न नसकेका पात्रहरु जीवन र आश्माको जबरजस्त सम्बन्धलाई निल्नु न ओकल्नुको अवस्थामा जीवन स्वयं शिरीषको फूल उपन्यासको सुयोगको बरी प्रतिको एकोहोरो प्रेमसंग पनि पटक पटक तुलना गर्दछ ।

अमेरिका जानु अघि नेपालमै स्नातकोत्तर गरेर स्कुल कलेज पढाउने कोरा ज्ञानले दिक्षित जीवनलाई विवाह भनेको केहो ? सम्बन्ध भनेको के हो ? सम्बन्ध कसरी निभाउनु पर्छ ? भन्ने ज्ञान विवाह गरेको पाँच बर्षको उतारचडाब पछि मात्र प्राप्त हुन्छ । आश्मालाई छोडेर नयाँ जीवन जीउने निश्कर्षमा पुग्छ ।

आश्मासंग बोलचाल बन्दभएको ६ महिना बीचमा जीवनले फेसबुक मार्फत अनामिकालाई भावना साटासाट गर्ने साथीको रुपमा पाउँछ । आश्मालाई त्याग्ने र अन्जान अनामिकालाई भेट्ने योजनामा जीवन सुटुक्क नेपाल फर्कन्छ ।

यस उपन्यासमा कतिपय ठाउँमा समय र घटनाबीचको सङ्गतिपूर्ण तालमेल देखिँदैन र पाठक अलमलिने लेखकले पनि अनुभूत गरेर बीचबीचमा लेखकले पाठकलाई सन्दर्भ सम्झाएको पनि छ ।

सामाजिक सन्दर्भ मोचनको सबल पक्ष हो भने भावनात्म्क, सांस्कृतिक, आर्थिक र पारिवारिक पक्षलाई समेत उपन्यासमा निकै महत्व दिएको छ । लेखकले नेपाली समाजको खोक्रो आदर्श, देखासेखी, बौद्धिक पलाएन, पारिवारिक गौरजिम्मेवारी लगाएतका समस्यालाई औपन्यासिकीकरण गरिएकोले यो कृति पठनीय छ ।

उपन्यासको बीचबीचमा पाश्चात्य साहित्यका भनाइहरु समाबेश गरिएको आधारमा अंग्रजी भाषा साहित्यमा समेत लेखकको राम्रो ज्ञान देखिन्छ । समग्रमा उपन्यासको भाषाशैली सहज, पठनीय र रोचक छ । एक बसाइमै पढिसकिने खालको चित्ताकर्षक कथानकको विन्यास यस उपन्यासको महत्वपूर्ण विशेषता हो ।

यथार्थबाट विमुख भएर साहित्यको उपादेयता सावित गर्न सकिन्न । यस उपन्यासका केही दुर्बल पक्षहरुले पाठकलाई आक्रोसित समेत गरएको छ । हामीले देखेको, भोगेको या अनुभूूत गरेको कुरा नै सामाजिक यथार्थवादी साहित्य या उपन्यासका विषय हुन्छन् र बिभिन्न कला, रूप र शैलीका माध्यमबाट अभिब्यक्त भएर पाठकको हातहातसम्म पुुग्छन् ।

सामाजिक यथार्थ घटना मुखरित गर्दै गर्दा मोचनमा लेखकले अन्धविश्वाशलाई स्थान दिएका छन् । आश्मालाई त्याग्ने र अनामिकालाई अंगाल्ने निर्णयमा पुग्न नसक्दा उपन्यासको नायक जीवनले शिव र पार्वतीको दर्शन पाएको र संबाद गरेको उल्लेख गरेका छन् । विद्यावारिधि गरेका लेखकले रुढिग्रस्त समाजलाई रुपान्तरण गर्ने विषयमा ध्यान दिन नसकेको वा चुकेको पाइन्छ । उल्टै उनले बचाउमा उपन्यासमा आध्यत्म चिन्तनलाई समेत स्थान दिएको भनेका छन् ।

विद्यावारिधि गर्दैगरेको उपन्यासको नायक जीवनसंग जीवन जिउने जिवनोपयोगी सीप र कला नभएर पारिवारिक जीवन ब्यवस्थापन गर्न नसकेको देखिन्छ । नायक जीवनमा निर्णय क्षमताको सिप नहुनु, समस्या समाधानको सिप नहुनु, अन्तरवैयक्तिक सीप नहुनु, तनाव ब्यवस्थापनको सिप नहुनु उसका कमजोरी हुन् । पात्रले आफ्नो कमजोरीलाई ढाकछोप गर्न इश्व पुकार्नु, ज्योतिष हेराउनु, ब्रत बस्नु र हात हेराउनु जस्ता रुढिग्रस्त घटनालाई उपन्यासमा लेखकले नियन्त्रण गर्न नसक्नु र निर्णायकस्थान दिनु लेखकको कमजोरी हो । योग र ध्यानको माध्यमबाट चिन्तन मनन गर्नु र निर्णयमा पुग्नुलाई भने उचित मान्न सकिन्छ ।

समाजवादी यथार्थवादमा सुदृढ भविष्य प्रति विश्वास गरिन्छ । त्यसकारण उक्त भविष्य प्रप्तिका निम्ति संघर्ष गर्ने गतिशिल व्याक्तिहरु नै यस किसिमका रचनामा पात्रको रुपमा अपेक्षा गरएको हुन्छ ।

यथास्थितिमा पाइने विसङ्गतिलाई देखेर पनि बिर्सिदिने क्रिया स्रष्टामा भइदियो भने लेखनमा समेत प्रतिकृयावादको जन्म हुन्छ । त्यसकारण यथर्थवादी स्रष्टाले यथास्थितिबाट जन्मिने विसङ्गतिलाई चिन्न सक्नु पर्छ । समाजलाई प्रतिकुल दिशातिर धकेल्ने प्रवृत्तिको निराकरणमा लेखकले सधैं ध्यान दिनै पर्छ । अन्धविश्वास र रुढिग्रस्ततालाई स्थान नदिनु पर्दथ्यो उपन्यासमा ।

उपन्यासको अन्त्यतिर आउँदा उपन्यासकारलाई कथा समाप्त गर्ने हतार भएको देखिन्छ । उपन्यासको अन्तिम पातो पल्टाउँदै गर्दा त्यही हतारले नै उपन्यासमा आश्मालाई खलपात्र देखाएर पनि उन्मुत्ति दिइएको छ । उपन्यामा पारिवारिक जीवन, सभ्यता, मर्यादा, मानवीय संवेदना ध्वस्त र बर्बाद बनाउने खलनायक आश्माको चैं मोचन भएको देखिन्छ नायक जीवनको होइन ।

सहि र साझा यथार्थलाई प्रतिनिधित्व गर्ने समसामयिक संवेदनशिल विषयलाई लेखकले प्रस्तुत गरेका कारण मोचन सबल र प्रखर दृष्टिकोणको संवाहक भएर पाठक सामु उपस्थित छ । यस अर्थमा पनि मोचन उपन्यासकार आचार्यको पढ्नैपर्ने औपन्यासिक कृति हो ।

तपाईको प्रतिक्रिया

Comments