Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

इलाम, १ भदौ २०७८ । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न संघीय सरकारसँग माग गरेका हुन् ।

इलामको सूर्योदय, इलाम, माई नगरपालिका, झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति नगरपालिका र बाह्रदशी गाउँपालिकाले निजीकरण भएका चिया विकास निगमका बगान फिर्ता गर्न माग गरेका छन् ।

२०५७ साल असार १४ मा भएको सम्झौता अहिलेको अवस्थामा सापेक्ष नभएकाले सम्झौता भंग गरी स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका हुन् । श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयनमा उदासिनता तथा उद्योगका महत्वपूर्ण उपकरण हराएकाले स्थानीय तहलाई सञ्चालनको जिम्मा दिन संघीय सरकारसँग माग गरेका छन् । इलाम र झापाको ६ वटा स्थानीय तहमा निजिकरण गरिएका ७ वटा चिया बगान फिर्ता गर्नुपर्ने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताउनुभयो ।

लिज सम्झौतामा उल्लेख भएको चिया बगानहरुबाट स्थानीय तहमा बुझाउनुपर्ने कानुन बमोजिमका कर निगम व्यवस्थापन पक्षले बुझाएको छैन । व्यवस्थापन पक्षले चिया श्रमिकको न्यूनतम ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा भएका व्यवस्था पूरै बेवास्ता गरेपछि निजीकरण फिर्ताको माग गरेको माई नगरपालिका प्रमुख दिपक थेवेले बताउनुभयो ।

सरकारले चियाको इतिहास बोकेको इलाम चिया बगान, कन्याम, सोक्तिम, चिलिमकोट लिजमा दिएको थियो । त्यस्तै झापाको बुद्धशान्ति, बाह्रदशी र टोक्ला चिया बगान तत्कालिन चिया विकास निगम मातहतबाट त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा रहनेगरी लिजमा दिएको हो ।ईमेजखबरबाट साभार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments