Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

काठमाडौं, १८ साउन २०७८ । सिन्धुपाल्चोकमा हालै गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति पुगेको र काठमाडौंमा पानी ल्याउने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले शुक्रबार राति थपिएको बाढीसँगैको पहिरोले मेलम्ची खानेपानी आयोजना कहिलेसम्म बनाउन सकिन्छ भन्ने नै अनिश्चित भएको जानकारी दिनुभयो ।

बाढी पहिरोका कारण मेलम्चीमा १ अर्ब ८८ करोड बराबरको क्षति भएको अनुमान गरिए पनि हेडवर्क्सका पुरिएका संरचनामा भएको क्षति नहेर्दासम्म यकिन लागत अनुमान गर्न गाह्रो पर्ने उहाँले जानकारी दिनुभयो ।

मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये ८ किलोमिटर सडक पूर्ण र याङ्ग्रीतर्फ ५ किलोमिटर सडक क्षति भएको भन्दै उहाँले बाढीका कारण ६ वटा पक्की पुल र अस्थायी कफरड्याम बगाएको जानकारी दिनुभयो ।

पहिरोले आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको जानकारी श्रेष्ठले दिनुभयो ।

प्राविधिक निरीक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकाले मुख्य टनेलमा क्षति नपुगेको अनुमान गरिए पनि हेडवर्क्सको पक्की संरचनाहरु पुरिनुका साथै निर्माण सामग्री, निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको उहाँको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सचिव प्रमिलादेवी आचार्यले बाढीमा परेर आयोजनामा काम गर्ने ३ जनाको मृत्यु र ५ जना बेपत्ता रहेको जानकारी दिँदै आगामी माघसम्म काठमाडौंमा पानी ल्याउने गरी मर्मत गर्न सकिने अनुमान गरिएकै बेला शुक्रबार थपिएको पहिरोले अब सम्भव नभएको जानकारी दिनुभयो ।

दीर्घकालीन अध्ययनका लागि एशियाली विकास बैंकलाई पत्राचार गरिएको जानकारी दिँदै आचार्यले मेलम्ची आयोजना के हुने हो अनिश्चित नै छ तर जसरी हुन्छ बचाउनुपर्छ भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया