Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

चिरञ्जीवी घिमिरे
झापा, १२ जेठ । गौरादह नगरपालिकाले गुणस्तर मापन पनि नगरी तीन हजार १२१ केजी चामल नष्ट गरेको छ । कुहिएको पाँच हजार केजीमध्ये तीन हजार १२१ केजी चामल गुणस्तर नाप चाँज पनि नगरी नष्ट गरेको हो । एक वर्षसम्म पानी चुहिने गोदाममा थन्क्याउँदा पाँच हजार केजी चामल कुहिएको थियो ।

सञ्चार माध्यममा  कुहिएको पाँच हजार केजी चामल स्टोर गरेर राखेको र विपन्न नागरिकलाई समेत बाँडेको समाचार निरन्तर प्रकाशित गरेपछि नगरपालिकाले बाध्य भएर नष्ट गर्ने निर्णय ग¥यो । सोमबार नगरपालिका परिषरभित्रै खाल्डो खनेर पुरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।

तर, नगरले हतारमा गुणस्तर मापन पनि नगरी चामल खाल्डोमा पुरेको हो । ‘आँखाले हेर्दा नै काम नलाग्ने जस्तो देखिन्छ । किन गुणस्तर मापन गर्नुप¥यो र ?,’ भट्टराईले भने,‘पाँच हजार केजीमध्ये दुई हजार केजी चाहिँ काम लाग्छ कि भनेर ५ नम्बर र ३ नम्बर वडामा राखेका छौँ ।’
सामान्य तया सरकारी खाद्यन्न काम नलाग्ने अवस्थामा पुगेमा नष्ट गर्नका लागि त्यसको गुणस्तर मापन गर्नुपर्ने नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अशोक पोखरेल बताउँछन् । ‘आँखाले देख्ने कुरा र कानुनी कुरा परक हो । कानुनी वैधताका लागि नगरपालिकाले खरिद गरेको चामल नष्ट गर्दा गुणस्तरको मापन गरिनुपर्दछ,’ उनले भने, ‘चामल नष्ट गर्न प्राविधिकले जाँच गरेको प्रतिवेदन चाहिन्छ ।’

नगरपालिकाले गल्ती लुकाउन हतारमा नष्ट गरेको स्थानीय राजनीतिक दलको आरोप छ । यतिसम्म कि नगरपालिकाले गल्ती ढाकछोप गर्न गौरादहका राजनीतिक दलका नेतृत्वलाई समेत जानकारी पनि नदिई चामल पुरेको नेकपा एमाले गौरादहका अध्यक्ष मित्रदेव काफ्ले बताउँछन् । ‘नेतृत्वको गैरजिम्मेवारी हो । यसको जिम्मेवारी मेयर रोहितकुमार साहले लिनुपर्छ,’ उनले भने, ‘यत्रो चामल नष्ट गर्दा हामी राजनीतिक दललाई पनि जानकारी छैन । जनप्रतिनिधिलाई सोध्न खोज्दा उहाँहरूले टारिरहनुभयो ।’

केही राजनीतिक दलका नेतृत्वले भने नगरपालिकाले नष्ट गरेको चामलको क्षति जनप्रतिनिधिले व्यहोर्नुपर्ने तर्क गरेका छन् । ‘जनप्रतिनिधिकै कारण यो चामल कुहिन पुग्यो । अब मेयर, उपमेयर, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र स्टोरको कर्मचारीबाट क्षति भराउनुपर्छ,’ कांग्रेस नगरसभापति यादवराज सेढाई भन्छन्, ‘गौरादह नगरपालिका गम्भीर कुशासनको चक्रमा चलिरहेको छ । महामारीमा स्रोतको चरम दुरुपयोग भयो । भलै मेयरले नेतृत्व गरेका होलान् तर यसको जिम्मेवारी सबै जनप्रतिनिधिले लिनुपर्छ ।’

नेकपा माओवादी केन्द्रका स्थानीय नेता शेरबहादुर कार्कीले नगरपालिकाले जनतालाई जानकारी पनि नदिई चामल पुरिएको भन्दै आपत्ति जनाए । ‘गुपचुपमा चामल नगरपालिका परिषरमै पुरे । चामल नै पुरे कि के पुरे शंका नै छ । हामीसहित नगरपालिकाका जनता मंगलबार बिहान पुरेको ठाउँमा गएर हेर्न खोज्यौँ,’ उनले भने, ‘तर, पुलिस लगाएर हामीलाई हेर्न दिएन । नगरपालिकाले जनता मारा स्थानीय सरकारको परिचय दियो ।’

गौरादह उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष डा. तिलक खनालले खाद्य सामग्री उपभोग गर्न योग्य हो हैन परीक्षणसमेत नगरी वितरण गरेको पाइएको बताए । अब कुहिएको चामलबाट मानव स्वास्थ्यमा आइपर्ने समस्याको जवाफदेही नगरपालिका हुनुपर्ने उनले बताए । चामल नष्ट गरेपछि स्थानीयले नगरपालिकाको चौतर्फी विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया