झापा, ३ जेठ २०७८ । कोरोना भाइरसको सङ्क्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । खाम्याहाङको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा सोमबार साढे २ बजे मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । काठमाडौँबाट फर्किएका उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वाटरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा बसेका थिए । आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । लामो समय सम्म विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका थिए ।






