१ जेठ २०७८ , अनलाइन विचार

झापाको गौरादह नगरपालिकाले गोदाममा भण्डारण गरेको पाँच हजार केजी चामल कुहिएको अवस्थामा छ । चामल कुहिएको विषयमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा तस्वीर सहित समाचार प्रकाशन भए । तर यो सूचना र समचारले गौरादहका जनप्रतिनिधिमा अहिले सम्म पनि चासो र चिन्ता देखिएन । महामारीले विश्व नै आक्रान्त बनिरहेको अवस्थामा गौरादहमा हजारौं केजी खाद्यान्न कुहिएको प्रति स्थानीय सचेत नागरिकहरुको प्रतिनिधिमूलक संक्षिप्त धारणा जस्ताको त्यस्तै ः

शेरबहादुर कार्की – खाद्यान्न कुहाउनु अपराध हो
गत बर्षदेखि कोभिड– १९ को संक्रमण नेपालमा पनि देखा पर्न थालेपछि गौरादह नगरपालिकाले पनि आफ्ना जनताहरुलाई बन्दाबन्दीको बेलामा राहत दिने उद्धेश्यले किनेर थुपारेको सयौँ मन चामल, दाल तथा भुजा राखेकै ठाउँमा कुहिएर कामै नदिने अवस्थामा पुगेको भन्ने समाचार सुन्दा, देख्दा साह्रै असैह्य पिडाबोध भएको छ । खाद्यान्न कुहाउनु भनेको बिपन्न,गरिब,असहाय जनताहरुको गरिबीमा खिसिट्युरी गर्नु हो अथवा जघन्य अपराध हो भन्दा अत्यिुक्ति हुँदैन । जनप्रतिनिधिलाई गौरादहमा गरिबी उन्मूलन भयो भन्ने लागेर पो हो कि कुहिन दिएको ? नेतृत्वकर्ताहरु बिउझिनु होस् जनताको तहबाट सोच्ने र योजन बनाउने गर्नुहोस् । नगरको श्रोत साधनबाट भोगविलाको संस्कृतिमा डुबेकाले होला सायद तपाईहरुमा अमत्याई लागेको जस्तो छ ।

मोहनकृष्ण घिमिरे – नगरको कुरुप वास्तविकता उदाङ्ग भयो
अकर्मण्यताको पराकाष्ठ गौरादह नगरपालीकाको ५ हजार केजी चामल काम नलाग्ने गरि नष्ट भएको भन्ने खबरले अत्यान्त पीडा बोध भयो । झन त्यसलाई सुधार गर्नुपर्नेमा अर्काे दुई हजार तिरेर भाडाको सटरमा कुहिएको चामल राखेको खबरले नगरको कुरुप वास्तबिकता उदाङ्गो भएको छ । नगर प्रमुख ज्यु तपाईको कार्यकाल अब कति छ ? त्यसपछि तपाईलाई हामीले सम्झदा तलब र भत्ता मात्र लिएर राम्रोसँग बिदा भए भनेर सम्झने कि केही असलकाम पनि गर्ने हो ?

शान्तिराम पौडेल – नगरपालिकाले जवाफ दिनुपर्छ
गरिब जनताको नाममा संघ सस्था र ब्यक्तिहरु बाट राहत वितरण गर्नलाई संकलन गरिएको र खरिद गरिएको खाद्य सामग्री यसरी कुहिएर जानुमा गौरादह नगरपालिकाको गैरजिम्मेवार काम हो र यो निन्दनीय पनि छ । गरिब जनताको नाममा खरिद गरिएको खाद्यान्न यसरी उचित तथा सुरक्षित भण्डारण नहुदा फेरि पनि ब्यक्ति सघ संस्थाहरुसंग आगामी दिनहरूमा सहयोगको अपेक्षा कसरी राख्ने ? यस्तो गैरजिम्मेवार कामको नगरपालिकाले सार्वजनिक रूपमा चित्तबुझ्दो जवाफ दिनुपर्छ । आगामी दिनहरूमा यस्ता गल्ती कमजोरीहरू नदोहोरिउन भन्ने सुझाव समेत दिन चाहान्छु ।

निर्मल बाँस्तोला – जनप्रतिनिधिको चरम गैरजिम्मेवारी
चामल कुहाइएको घटनाले जनप्रतिनिधीको चरम गैर जिम्मेवारी पनको उदाङ्गो रुप प्रस्तुत भएको छ । महामारीको बिषम परिस्थितिमा जनताको साथी र भरोसा जनप्रतिनिधि नै हो तर यो प्रकारको असावधानीले जनप्रतिनिधि प्रतिको विश्वास गुम्ने छ । नगरपालिकाको जवाफदेयीता पुगेन किन र कसरी खाद्यान्न कुहिन पुग्यो जवाफ चाहियो । जनता भोकै पर्ने भयावह अवस्था आउन लाग्दैछ ।

चक्र बराल – मापदण्ड बिपरित खाद्यान्न भण्डारण गर्नुको परिणाम
जानीजानी चिसो भुइ र चुहिने छानो मुनि खाद्य सुरक्षण मापदण्ड बिपरित खाद्यान्न भण्डारण गर्नु स्थानीय सरकारको कमजोरी हो । यस्तो लापरबाही गरेर चामल सडाउने जिम्मेवार ब्यातिहरुलाइ जति खाद्यान्न सडेको छ त्यतिनै बाराबरको क्षतिपूर्ति गराउनु सामाजिक न्याय हुन्छ । सडेको अवस्थामा भएको र खाद्यतत्व नष्ट भएको खाद्यान्न राहतका नाममा नबाँडियोस् यदि बाँडियो भने त्यसले स्वास्थ्यमा झन जटिल समस्या ल्याउन सक्छ । सडिसकेको चामल भाडा तिरेर भण्डारण गर्न आवस्यक छैन ।

दीपनारायण केसी – भ्रष्टाचारमा घिनलाग्दो नाम कमाइसके
गैर जिम्मेवारिको पराकाष्ठा भन्छु म यस्तो कामलाई । त्यो गत साल बितरण गर्दा पनि लापरबाही भएकै हो । ल जे भयो सो भयो, बितरण गरेर बाँकी रहेको खाद्यान्नलाई बिक्रि गरेर नगदमा परिबर्तन गरेपछि पुनः प्राकृति प्रकोप वा यस्तै बेला बितरण गर्नेगरी सम्बन्धित कार्यालयको खातामा राख्न पनि सकिन्थ्यो होला नी । भ्रष्टाचारमा घिनलाग्दो नाम कमाइसकेको गौरादह नगरपालिकाका पदाधिकारी समेत पहँुच पुग्ने सबको सोच कसरी भ्रष्टाचार गरेर कमाउने भन्नेमा मात्र भएपछी यस्तो लापरबाही त हुनेनै हो । यसै पनि गौरादह नगरपालिका पन्द्रलाखको इस्टमेट, पाँच लाखको काम, दस लाख चै भागशान्ति झ्वाम भन्नेमा ठुलै नाम कमाएको छ । सायद यिनिहरुको ध्यान तेतातिर मात्र छ भन्दा तेति धेरै अत्युक्ति नहोला ।

इन्द्र न्यौपाने – समयले सजाय गर्नुपर्छ
यो लज्जित बिषय हो । कार्य दक्षता र ब्यवस्थापन को कमजोरी, चामल खान तैयार खाद्य पदार्थ गौरादह जस्तो सुगम ठाउमा किन, के कारण र कसरी कुहिन सक्छ ? यो यस्तो आवाज हो जिम्वेवारहरूलाई नागरिकले मात्र हैन समयले सजाय गर्नु पर्छ, योजना क्षमता र सामाजिक बिकासको भावना जन प्रतिनिधिमा नभएको संकेत मात्र हैन प्रमाण हो यो । यसको जवाफ उनीहरूले दिनै पर्छ ।

माधव भट्टराई – गलत कामको भण्डाफोर गरौं
गौरादह नगरपालिकामा गत बर्षकै लागि भनेर खरिद गरिएको राहत चामल, भुजा र दाल १२५ मन भन्दा बढी वितरण नगरी बिना सूचना कुहाएर राख्नु स्थानीय सरकारको कति बुद्धिमानी हो ? गत बर्षको लामो लकडाउनमा श्रमजीवि खान नपाई छटपटाइरहेको अवस्थामा बाढीनु पर्ने सामग्री कुहाएर राखेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ । यो अवस्थासम्म हुँदा जनप्रतिनिधि बेखबर हुनुले वहाँहरुको सक्षमता माथि प्रश्न खडा भएको छ । के का लागि र जुन स्वार्थले हालसम्म राखियो सत्यतथ्य तुरुन्त नगरपालिकाले सार्बजनिक गर्नुपर्छ । यो कोरोनाको बिषम परिस्थितिमा पनि जनप्रतिनिधिबाट यो किसिमको काम हुने र आफै बेखबर हुने हो भने नगरवासीको हित बिपरित हो । यस्ता निन्दनीय काम प्रति सजग रहन सम्पूर्ण पार्टी प्रतिनिधि र सचेत नगरवासीलाई अवहान गर्दछु र गलत कामको भण्डाफोर गरी अघिबढ्न पनि अनुरोध गर्दछु ।

शंकर कट्टेल – नगरपालिका घेर्नुको बिकल्प छैन
चामल कुहिएर खेर जान्छ जनतामा खान नपाउने अवस्था छ । जनप्रतिनिधि तथा कर्मचारीहरुको जनता र राज्य प्रतिको उत्तरदायित्व नहुनुको कारण हो । “कहिँ नभएको जात्रा हाडि गाउँमा ” गौरादहमा स्थानीय सरकार यदी छ भने यो विषयमा तत्काल बिज्ञप्ति जारी गरियोस् के कारणबाट यस्तो भएको हो ? अब बिक्रितिको बिरुद्ध नगरपालिका घेर्नुको बिकल्प छैन । अब जनता जाग्नु पर्छ । जनतालाई धोका दिएर नगरपालिकाको श्रोत साधनलाई दुरुपयोग गर्ने संग जनताले एकएक हिसाब खोज्ने छन् ।

गंगा कार्की – लाचारीपन तथा विवेक शुन्यको पराकाष्ठा हो
यो दुखद परिस्थितिमा गौरादह नगरपालिकाले राहत वितरण नगरेर चामल कुहाउनु र भण्डारण गर्नु दुखद कुरा हो । जुन समयमा हामी जनताले सोही राहतका लागि आर्थिक सहयोग समेत गरेका हौं । भएन हरेक बिकासे बजेट रोजगारिका पारिश्रमिक प्रतिशत कटाएर गरिब तथा बिपन्न वर्गलाई सामग्री वितरण गर्ने श्रोत जुटाइएको हो । राहात पर्याप्त बितरण नगरी भण्डारणका नाममा यसरी चामल जस्तो अपरिहार्य खुराक कुहाउनु लज्जास्पद कुरा हो । जरुरत भएकालाई ब्यवहारिक मापदण्ड सिमा बनाएर वितरण गनुृ नै पर्दथ्यो र पर्छ पनि । अहिले झन कहालीलाग्दो अवस्थामा नगरपालिकाले आवस्यक सामग्री खाद्यान्न आदि त्यो वर्गको पहँचमा पुर्याउन नसक्नु लाचारीपन तथा विवेक शुन्यको पराकाष्ठा हो भन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Comments