Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौँ, ३० वैशाख २०७८ । कांग्रेस-माओवादी बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने टुंगोमा पुगेका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यस्तो जानकारी गराएको नेता गणेश साहले बताए ।

स्थायी कमिटी सदस्य साहका अनुसार कांग्रेस र माओवादी एमालेको झलनाथ खनाल र माधवुकमार नेपाल समूहले सहयोग नगर्ने निश्चित भएपछि बहुमतको सरकार गठनका लागि दावी नगर्ने निष्कर्षमा पुगेका हुन् ।

सोमबार संसदमा विश्वासको मत नपाएसँगै केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार तीन दिनको समय दिएर विहीवार राती नौ बजेसम्म गठबन्धन सरकारको लागि आव्हान गरेकी थिइन् ।

कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले पनि बहुमतको सरकार बनाउन नसकिने निष्कर्षमा पुगेको बताए । उनले बैठकपछि पत्रकारहरुलाई भने, उपेन्द्र यादवजी त तयार हुनुहुन्थ्यो तर महन्थ ठाकुर राजेन्द्र महतोले हामी बहुमतको सरकारमा सहभागी हुँदैनौं र समर्थन पनि गर्दैनौं भन्नुभयो । माधव नेपालजीहरुको पनि निर्णय आएन ।

विपक्षी गठबन्धनले सरकार गठनको दावी नगर्ने भएपछि एमालेसँग अब सरकार गठनका लागि दुई विकल्प आएका छन् । जसपाको ठाकुर र महतो समूहको समर्थनमा ओलीले बहुमतको सरकारका लागि दावी पेश गर्ने सम्भावना पनि छ । यसो भएन भने ७६ (३) अनुसार ओली संसदमा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नेछन् ।कान्तिपुरबाट साभार

 

तपाईको प्रतिक्रिया