Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

झगेन्द्र खड्का
गौरीगञ्ज, २१ चैत २०७७ । दक्षिणी क्षेत्रको मुख्य सडकका रुपमा रहेको हुलाकी राजमार्ग कालोपत्र गर्ने कार्य सुरु भएको छ। हुलाकी राजमार्ग सडक खण्डको तुलाचौन चोकदेखि कमल खोला सम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे भइसकेको छ। तुलाचौन चोक देखि पश्चिम किस्नी खोला सम्म कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा छ। किस्नी खोला देखि ठेकिटोल चोकसम्म पहिलो चरणको कालोपत्रे गरिएको छ। सडक भित्र पर्ने केही कल्भर्ट निर्माणको क्रममा रहेपनि अधिकांश कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् ।

सडकको १४ नम्बर ठेक्का अन्तर्गत रहेको सडकको १८ किलोमिटर सडक खण्डको काम आउँदो असोज सम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको ठेकेदार कम्पनी गजुरमुखी मोतिदान जेभी कन्ट्रक्सनले जनाएको छ। ‌सडक निर्माणका लागि ठेक्का लागेपछि निर्माणकार्य तिब्रगतिमा भइरहेको छ। गौरीगंजको बजार क्षेत्रमा सीमा विवादका कारण लामो समयदेखि अवरुद्ध हुलाकी सडकको काम शुक्रबारदेखि शुचारु भएको छ।

गौरीगंजको बजार क्षेत्रमा विवादका कारण सडक निर्माण कार्य अवरुद्ध हुँदा समयमा सडक निर्माण सम्पन्न नहुनेमा स्थानीयहरुमा आसंका उब्जिएको थियो। गौरीगंजको पुर्वमा नहरदेखि पश्चिममा गेउरिया पुल सम्मको बजार क्षेत्रमा हुलाकी सडक खण्डको दाँयाबाँया क्षेत्र निर्धारण गर्न नसक्दा सो क्षेत्र विवादित हुदै आएको थियो। सडकको चौडा फराकिलो बनाइदा आफ्नो घर सडकमा पर्ने आसंकामा बिबाद निकालि सडक निर्माणकार्य अबरुद्ध गर्दै आएका थिए।

पछिल्लो समय फागुन २४ गते सरकारी नक्सा अनुसार नापि कार्यालयको प्रतिनिधिद्वारा सडकको सीमा निर्धारण गरिएपनि सडकको बिबाद सुल्झिन सकेको थिएन। वडा न. ३ का वडाध्यक्ष मखना महतोले शुक्रबार आफ्नै निगरानीमा सरकारी अमिनको नापी अनुसार काम शुरु गराएका छन् । हुलाकी सडक निर्माण यस क्षेत्रको विकाशको मेरुदण्ड रहेकाले यस कार्यमा विवाद ननिकाल्न अध्यक्ष महतोले सबैमा आग्रह गरेका छन्। शुक्रबार बिहान काम शुरु गर्दा केहि सामान्य विवाद भएपनि नहरदेखि गौरीगंज चौक सम्म सडकको दक्षिण किनारमा नाला खन्ने काम सम्पन्न भएको छ। सडक उत्तर किनारमा विद्यालयका केहि सँरचनाहरु भत्काउन बाकी छन्।‌ नहर पुर्व नाला खन्ने क्रममा सडक क्षेत्र भित्र परेका केहि घर सँरचनाहरु नभत्काई नाला बाँगो टिँगो खन्न थालेपछी स्थानियहरु आक्रोशित भएका थिए।‌ वडाध्यक्ष महतोले सडक क्षेत्र भित्र परेका घर सँरचनाहरु हटाउन अल्टिमेटम दिइसकेको र अहिले खालि नभएको अवस्थामा नालाको खाल्डो बाँगोटिँगो भएपनि सँरचनाहरु खालि भएपछी नालाको वाल उठाउने समयमा नाला सिधा हुने कुरा जानकारी गराएका थिए।

हुलाकी सडक अन्तर्गत १४ नम्बर ठेक्काको रतुवा देखि कमल खोला सम्मको १८ किलोमिटर सडक खण्डको लगभग ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। हुलाकी सडक निर्माणमा स्थानीय बासिन्दाहरुबाट विवाद नआए सडक निर्माणकार्य सम्पन्न हुने समय अगाडिनै निर्माण कार्य सम्पन्न हुने सडक निर्माण कम्पनीका ठेक्केदार विकाश गौतमले जानकारी गराए।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments