Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २६ माघ २०७७ । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्लाप्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बि।क पक्राउ परेका हुन् ।

पौडेलीले अनलाइनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगी मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ बाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बि.क.को साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ तथा उनको घरकोठामा रहेको दराज भित्रवाट २ लाख ८ हजार २ सय रुपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८ लाख ३० हजार ३ सय ५० रुपैयाँ गरी जम्मा १३ लाख ९५ हजार २ सय १५ रुपैयाँ नगद बरामद भएको छ ।

यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान बरामद भएको छ । बिकलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया