Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १९ माघ २०७७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ । यसअघि हिजो बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

वैशाख र जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो। बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो ।

प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको बोर्डले जनाएको छ । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसअघि १ हजार १ सय परीक्षा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुन्थ्यो । कोरोना महामारीबीच ४ लाख ३३ हजार २७१ जना परीक्षार्थी सहभागी थिए। नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया