Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठ्माडौं, ३० भदौ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री ज्ञवालीलाई मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको हो ।
अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले राजीनामा दिएपछिका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएका थिएनन् । खतिवडाले सम्हाल्दै आएका मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।

तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त मन्त्रालय र प्रवक्ताको जिम्मेवारी खतिवडालाई दिइएको थियो ।

मन्त्री ज्ञवालीले सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नहुन्जेलसम्मकालागि प्रवक्ताको जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हालिरहेका छन् । सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने गरेकोले नयाँ मन्त्री नियुक्त नहुँदासम्म उक्त जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको हो ।

पछिल्लो समय बिहीबार मात्रै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने गरिएको छ । प्रवक्ताको जिम्मेवारी पाएका ज्ञवालीले आगामी बिहीबार मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकका निर्णय सार्वजनिक गर्नेछन् ।

तपाईको प्रतिक्रिया