Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ३ भदौ २०७७ । राष्ट्रिय झण्डा जलाउन संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउन संलग्न ‘क्यामेराम्यान’ लाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्रेको जनाइएको छ । पक्राउ परेका ‘क्यामेराम्यान’ को परिचय खुलाइएको छैन । भिडियोका गायक भने गेल्जङ दोर्जे तामाङ हुन् र उनलाई प्रहरीले खोजिरहेको छ ।

सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरिएको थियो जसमा भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाउँछन् ।

चौतर्फी विरोध भएपछि अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले एक जनालाई पक्रेको हो ।

म्युजिक भिडिओ भने मकवानपुरको बागमति गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ ।

प्रहरीले भिडिओ शेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न ।

कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजायँ, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया