Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुुब्बा
गौरादह, २७ साउन २०७७ । झापाको गौरादह नगरपालिकाको वडा नं.७ का दुइजना पुरुषमा संक्रमण पुष्टी भएपछि कोरोना समुदायमा फैलने जोखिम बढेको छ । गौरादह-७ को जामवाडी घर भएका इलाममा कार्यरत सशस्त्र प्रहरी बलका २५ र २७ वर्षका दुई जवानमा कोरोना पुष्टी भएको थियो ।

उनिहरु बिदा मनाउन घर आएका समयमा होम क्वारेन्टाइनमा नै बसेका बेला पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमितका परिवार तथा उनिहरुको सम्पर्कमा आएका १०० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि आज नै मेची अंचल अस्पताल पठाइएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

उनिहरु सँग प्रत्यक्ष सम्पर्कमा आएका ६, ७, ८ र ९, एन.आइ.सी एशिया बैंक गौरादह शाखाका कर्मचारी तथा ग्वालडुब्बा बजार क्षेत्रका ३५ जना महिला र ६५ पुरुष गरि १०० जनाको पहिचान गरिएको छ जसमा एन.आइ.सी एशिया बैंकका ३ जना कर्मचारी पनि रहेका गौरादह हेल्थ पोष्टका इन्चार्ज सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् । कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

कोरोना संक्रमण समुदायमा फैलने त्रासले गौरादह नगरपालिकाले हिंजो नै नगर प्रमुख रोहित कुमार शाहको अध्यक्षतामा बसेको आकस्मिक रुपमा बोलाएको जनप्रतिनिधि ,राजनीतिक दल तथा उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको सर्वपक्षिय बैठकबाट समुदायमा संक्रमणको जोखिम देखिएको भन्दै हिंजो राती १२ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि वडा नं.६,७ र ८ का सम्पूर्ण क्षेत्र तथा ५ र ३ को केहि भाग सिल गरिसकेको छ ।

गौरादह नगरपालिकाको वडा नं. ६, ७ र ८ को सम्पूर्ण क्षेत्र, वडा नं. ५ को स्वामीचोक कार्कीचोक पूर्व, डोरामारी खोला पश्चिम, नमुना खेती जाने बाटो, जत्रुचौन चान्दु जाने बाटो, पिपल चोक दक्षिण वडा नं.४ को सिमाना उत्तर सम्म र ३ नं. वडाको गुराँस चोक देखि दुर्गा प्रा।वि हुदै नारायण थापाको घर देखि दक्षिण सम्मको क्षेत्र सिल गरिने निर्णय गरेको छ ।

यस्तै, कोरोना संक्रमण पुष्टी भएका साउदी अरबबाट आएर क्वारेन्टाइनमा बसेका ३ जना र इलामबाट गौरादह घर आएका २ जना गरि ५ जनालाई गौरादह नगरपालिकाको कोभिड-१९ पोजेटिभ आइसोलेसन सेन्टर जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनमा एक दिन राखी आज पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ अस्पताल गोठगाउँमा थप उपचारका लागि पठाइएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

गौरादहमा यसअघि जेठ १४ गते पहिलो पटक २ पुरुषमा, जेठ २३ गते थप अर्को एक पुरुषमा, जेठ २८ गते पहिलो पटक एक महिलामा, असार १७ गते ४ पुरुष ३ महिलामा, असार २३ गते एक वृद्ध महिलामा संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमित १२ जना कोरोना जितेर घर फर्किसकेका छन् । हिजो थप ५ पुरुषमा कोरोना संक्रमण पुष्टी भएसँगै कोरोना संक्रमितको संख्या ५ महिला र १२ पुरुष गरि १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया