Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, २५ साउन २०७७ । नगरकाे समृद्ध बिकाश निर्माण र नगरबासीहरुका अपरिहार्य कामलाई प्राथमिकतामा राखेर बिनियाेजन गरिने बजेट गौरादह नगरपालिकाले नगर बाहिरका संस्थालाई बिनियाेजित गरेकाे छ।

आर्थिक बर्ष २०७७/०७८ का लागि गौरादह नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे थियाे। नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ काे नीति तथा कार्यक्रममा कृषि शिर्षकमा १७ वटा बुदा समेटिएको छ। समेटिएका १७ वटा बुदा मध्ये ८ वटा शिर्षकमा बजेट बिनियाेजन गरेपनि ९ वटा शिर्षकमा बजेट बिनियाेजन भएकाे छैन।

गौरादह नगरपालिकाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमका आधारमा बजेट बिनियाेजन भएकाे पाइन्दैन। नीति तथा कार्यक्रमका आधारमा आर्थिक बर्ष २०७७/०७८ का लागि बिनियाेजित बजेटले नीति तथा कार्यक्रमका केही अंशलाई समेटे पनि मुख्य बदाहरुलाई सम्बाेदन गरेकाे छैन।

नगरपालिका भित्र बसाेबास गर्ने अधिकांश मानिसहरु कृषि पेशामा आधारित रहेकाले किसानलाई कृषि क्षेत्रमा आकर्षण बढाउन नीति तथा कार्यक्रममा समाबेश गरेपनि त्यस अनुरुप बजेट बिनियाेजन नहुदा कागजमै सिमित हुने देखिन्छ। नीति तथा कार्यक्रम अनुसार कृषि क्षेत्रलाई प्रबर्द्धन गर्दै किसानलाई आकर्षण गर्नेगरि बजेट बिनियाेजन गर्नु पर्नेमा नगर भन्दा बाहिरका संस्थाहरुलाई बजेट बिनियाेजन गरेकाे छ।

नगर भित्रका नागरिकका आधारभुत आवस्यकतामा केन्दीत भएर बजेट ल्याईनु पर्नेमा दलिय भागबण्डा गरि नगर बाहिरका संस्थाहरुमा बजेट बिनियाेजन गर्दा नगर भित्रका बिकास निर्माणका काम ओझेलमा पर्ने स्पष्ट देखिन्छ।गौरादह नगरपालिकाकाे नगर मार्फत संचालन हुने योजनाहरु शिर्षकबाट राजनीतिक भागबण्डा गरि जहादा ठेगाना रहेको शैलजा आचार्य मेमोरियल पोली टेक्नीक इष्टिच्युटका नाममा ५ लाख, माेरङकाे उर्लाबारी ठेगाना रहेको मदन भण्डारी फाउण्डेसनलाई ५ लाख, झापाकाे कनकाई ठेगाना रहेको तुर्सा हेमरम स्मृति प्रतिष्ठानलाई २ लाख, झापाकाे भद्रपुर ठेगाना रहेको दोर्णचार्य स्मृति प्रतिष्ठानकालाई २ लाख, बिपि स्मृति भवन निर्माण भनेर १० लाख तथा मदन आश्रित वाचनालय भनेर १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ।

गौरादह नगर कार्यपालिकाले नगरपालिकाकाे बजेटबाट नगरपालिका भित्र रहेका माध्यमिक बिद्यालय तथा क्याम्पसमा अध्यानरत बिद्यार्थीहरुलाई आकर्षण बढाउन बजेट बिनियाेजन नगरि राजनितिक भागबन्डाका आधारमा नगर तथा जिल्ला बाहिरका संस्थाहरुलाई बजेट छरेकाे छ।

नगरपालिकाले ल्याएको नीति कार्यक्रम र बजेटमा तालमेल नमिल्दा किसानकाे जीवन स्तर उकास्ने भन्दापनि किसानले हैरानी बिहाेर्नु परेकाे गौरादह -२ का किसान मित्र बहादुर बस्नेत बताउँछन्। नगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना महामारीको कारण भारत लगाएत अन्य मुलुकबाट स्वदेश फर्किएका नगर भित्रका युवाहरुलाई स्वरोजगार बनाउन युवा कृषि उद्यम कोषको स्थापना गरी संचालनमा ल्याइने भनिएता पनि सो शीर्षकमा बजेट बिनियाेजन भएकाे छैन।

नगरापलिका भित्रका सबै किसानले खेती गर्ने खेतकाे माटोको परीक्षण तथा उपचार गरिने उल्लेख गरिएपनि नगरको कृषि शाखाले माटो परीक्षण र उपचार शीर्षकमा बजेट निनियोजन गरेको छैन।नीति कार्यक्रममा कृषिमा यान्त्रिकरणमा जोड दिन नीजि क्षेत्रसंग सहकार्य गरी नगर भित्र एक कृषि यान्त्रिकरण युनिट स्थापना गरिने भनिएता पनि नगरको कृषि शाखाकाे बजेटमा समाबेस भएकाे छैन।

कृषकहरुले उत्पादन गरेका केही जातका तरकारीहरु सुकाएर प्याकेजिङ गरी बाह्रै महिना बजारमा ल्याउने ब्यवस्था मिलाइने भनिएपनि बजेटमा समेटिएको छैन। कृषकलाई सामूहिक रुपमा धान सुकाउने ठाउँ तथा बोरिङ वितरण र प्रविधि समेतको आवस्यक सुरुवात गरिने नीति कार्यक्रममा समाबेश गरेपनि बजेटमा समावेश गरिएकाे छैन।

पारित नीति कार्यक्रममा स्थानीय उत्पादनको बजारिकरण तथा प्रवद्र्धन गर्न मुख्य बजारहरुमा कोसेली घरको स्थापना, मुख्य बजारहरुमा पहिचान सहितको विक्रि कक्षको स्थापना गरिने भनिए पनि बजेटमा समाबेश गरिएकाे छैन।

तर केही वडाहरुले भने वडाको बजेटबाट कोसेली घर निर्माणमा बजेट बिनियोजन गरेको पाइन्छ। विदेशबाट कृषि ज्ञान सीप सिकेर आएका युवालाई प्रोत्साहन गर्न नमुना कृषि फर्म निर्माण गर्न र कृषि प्रविधिको प्रचारमा जोड दिइने भनिएपनि बजेटमा समावेश गरिएको छैन।

सामुदायिक मौरीपालन कार्यलाई प्रोत्साहन गरी मौरी पालन गरिने घारमा केही अनुदानको ब्यवस्था मिलाइने भनिएपनि बजेटमा समाबेश गरिएकाे छैन। फलफूल, तरकारी, माछा तथा मौरी जस्ता कृषि उत्पादनको विकासका लागि नगरभित्र संभाबित पकेट क्षेत्र पहिचान गरी घोषण गरिने भनिएपनि बजेटमा समावेश गरिएकाे छैन।

काेराेना भाइरस संक्रमण नियन्त्रण,कृषि क्षेत्र नगर भित्र बिकास निर्माण,फाेहाेर ब्यबस्थापन,बसपार्क निर्माण,खेल मैदानकाे व्यवस्थापन जस्ता अति आवस्यक कार्यहरुमा बजेट बिनियाेजन गरि सम्पन्न गर्नु पर्नेमा नगरकाे बजेट अन्य ठाउँमा बिनियाेजन गर्दा नगरभित्रका बिकाश निर्माणका कामहरु प्रभावित हुने देखिन्छ।

तपाईको प्रतिक्रिया